इमेल ह्याक भएपछि जन्मिएको कम्पनी, जसले बम्बई स्टक एक्सचेन्जमा रच्यो नयाँ इतिहास « Arthapath.com
२५ असार २०८३, बिहिबार

इमेल ह्याक भएपछि जन्मिएको कम्पनी, जसले बम्बई स्टक एक्सचेन्जमा रच्यो नयाँ इतिहास



भारतीय सेयर बजारको इतिहासमा नेपाली उद्यमी दीपजंग थापा आबद्ध साइबर सुरक्षा कम्पनीको आईपीओ दुई सय गुणाभन्दा बढीले बिक्दै कीर्तिमानी रूपमा सूचीकृत भएको छ।

काठमाडौँ । भारतीय सेयर बजारको इतिहासमा पहिलोपटक एक नेपाली उद्यमी जोडिएको प्रविधि कम्पनीले निकै लोभलाग्दो र ऐतिहासिक सफलता हात पारेको छ।

नेपालको खोटाङ घर भएका नेपाली इन्जिनियर दीपजंग थापा सह-संस्थापक रहेको एआई-जडित साइबर सुरक्षा कम्पनी ‘क्रतिकल टेक लिमिटेड’ को आईपीओ बम्बई स्टक एक्सचेन्ज (बीएसई) मा कीर्तिमानी रूपमा बिक्री भएको हो।

असार १६ गते खुला भई १८ गते बन्द भएको उक्त प्राथमिक सेयर निष्कासनमा सर्वसाधारण लगानीकर्ताको तर्फबाट मागभन्दा २०५.०८ गुणा बढी आवेदन परेपछि भारतीय बजारमा यसले नयाँ बहस छेडिदिएको छ।

इमेल ह्याकदेखि सेयर बजारसम्म

आज करोडौँको मूल्यवान् बनेको यो साइबर सुरक्षा कम्पनी स्थापना हुनु पछाडिको कथा निकै चाखलाग्दो छ। सन् २०१३ मा भारतको प्रतिष्ठित मोतीलाल नेहरु राष्ट्रिय प्रविधि संस्थान (एमएनएनआईटी) मा इन्जिनियरिङ पढ्दै गर्दा तीनजना साथीहरूमध्ये एकजनाको इमेल कलेजको साझा कम्प्युटरबाट ह्याक भयो।

त्यही एउटा सानो साइबर हमलाले उनीहरूलाई इन्टरनेट सुरक्षाको संवेदनशीलता बुझायो र उनीहरूले कलेज पढ्दापढ्दै एउटा बलियो सुरक्षा प्रणाली बनाउने निधो गरे।

यसरी तीन कलेज सहपाठीहरू दीपजंग थापा, पवन कुमार र परतोष कुमार मिलेर क्रतिकल टेकको जग बसालेका थिए।

झण्डै नौ वर्षअघि मात्र चारजना ‘एन्जल इन्भेस्टर्स’ (सुरुवाती लगानीकर्ता) को सहयोगमा सुरु भएको यो कम्पनीको बजार मूल्य अहिले करिब ३ अर्ब २३ करोड नेपाली रुपैयाँ पुगिसकेको छ।

खोटाङदेखि बम्बईको ट्रेडिङ फ्लोर

खोटाङका ३३ वर्षीय दीपजंग थापा यस कम्पनीमा प्रमुख सञ्चालन अधिकृत (सीओओ) का रूपमा कार्यरत छन्। प्रविधि क्षेत्रमा आउनुअघि भारतको चर्चित वित्तीय प्रविधि कम्पनी पेटीएममा ‘प्रडक्ट म्यानेजर’ को अनुभव बटुलेका थापाले आफ्नो यो सफलतालाई एउटा ठूलो सपनाको साकार रूप भएको बताए।

खोटाङको विकट पहाडदेखि बम्बई स्टक एक्सचेन्जको ट्रेडिङ फ्लोर पुग्दासम्मको यात्रा आफ्ना लागि निकै अविश्वसनीय रहेको उनले उल्लेख गरे।

लगानीकर्ताहरूले देखाएको यो अभूतपूर्व विश्वासले आफूहरूको सोचलाई अनुमोदन गरेको र यो आईपीओ अन्तिम गन्तव्य नभएर एउटा महत्त्वाकाङ्क्षी यात्राको सुरुवात मात्र भएको उनको भनाइ छ।

विश्व बजार र नेपाल कनेक्सन

कृत्रिम बुद्धिमत्ता अर्थात् एआई प्रविधिमा आधारित यो कम्पनीले विशेष गरी वित्तीय संस्था, फिनटेक, दूरसञ्चार, स्वास्थ्य सेवा, औषधि उद्योग र ई-कमर्स जस्ता क्षेत्रलाई साइबर सुरक्षा सेवा र परामर्श प्रदान गर्दै आएको छ।

भारत र मध्यपूर्वी देशहरूमा बलियो उपस्थिति जनाइसकेको यस कम्पनीले आईपीओबाट संकलित नयाँ पूँजीको प्रयोग गरेर अमेरिका र विश्वका अन्य भूभागमा आफ्नो बजार तीव्र रूपमा विस्तार गर्ने योजना बनाएको छ।

अन्तर्राष्ट्रिय बजारमा आक्रामक रूपमा अघि बढिरहेको यस कम्पनीले नेपालमा पनि साइबर सुरक्षाको क्षेत्रमा आफ्नो भूमिका बढाउन काठमाडौँको प्रविधि कम्पनी ग्याप टेक्नोलोजीजसँग व्यावसायिक साझेदारी गरिसकेको छ।


प्रतिक्रिया दिनुहोस्