मर्जरपछि पोखरा र समृद्धि फाइनान्सको एकीकृत कारोबार सुरु, सेयर कारोबार रोक्का
काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्सबीचको मर्जर प्रक्रिया पूरा भएपछि आज (असार २६) देखि संयुक्त रूपमा वित्तीय सेवा सञ्चालनमा आएको छ। मर्जरपश्चात् दुवै संस्था अब ‘पोखरा फाइनान्स लिमिटेड’ नामबाट एउटै संस्थाका रूपमा कारोबार गर्ने भएका छन्।
एकीकृत कारोबार सुरु भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुवै वित्तीय संस्थाको शेयर किनबेच स्थगित गरेको छ। नेप्सेले असार २५ गते सार्वजनिक गरेको सूचनाअनुसार मर्जर प्रभावकारी हुने मितिदेखि लागू हुने गरी शेयर कारोबार रोक्का गरिएको हो।
धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने/गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ को दफा ९(३) अनुसार मर्जर प्रक्रियापछि शेयर कारोबार रोक्ने व्यवस्था रहेकाले उक्त निर्णय कार्यान्वयन गरिएको नेप्सेले जनाएको छ।













