स्पेस एक्सपछि विश्वकै दाेस्राे ठूलाे आईपीओः काेरियाकाे एसके हाइनिक्सले अमेरिकी बजारबाट उठायो २६.५ अर्ब डलर « Arthapath.com
२६ असार २०८३, शुक्रबार

स्पेस एक्सपछि विश्वकै दाेस्राे ठूलाे आईपीओः काेरियाकाे एसके हाइनिक्सले अमेरिकी बजारबाट उठायो २६.५ अर्ब डलर



काठमाडौँ । दक्षिण कोरियाको अग्रणी मेमोरी चिप उत्पादक ‘एसके हाइनिक्स’ ले अमेरिकाको पुँजी बजारमा इतिहास रच्दै २६.५ अर्ब अमेरिकी डलर (करिब ३६ खर्ब रुपैयाँ) बराबरको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) सम्पन्न गरेको छ।

कृत्रिम बुद्धिमत्ता (एआई) प्रविधिका लागि आवश्यक उच्च क्षमताका मेमोरी चिपको तीव्र मागका कारण कम्पनीको सेयरमा लगानीकर्ताको असाधारण आकर्षण देखिएको हो।

कम्पनीले शुक्रबार न्युयोर्कस्थित नास्डाक स्टक एक्सचेन्जमा सूचीकृत हुनुअघि १७ करोड ७९ लाख अमेरिकी डिपोजिटरी सेयर (एडीआर/एडीएस) प्रतिकित्ता १४९ अमेरिकी डलरका दरले बिक्री गरेको जनाएको छ। यो मूल्य दक्षिण कोरियाको सेयर बजारमा कारोबार भइरहेको मूल्यभन्दा करिब ३.१ प्रतिशत बढी हो। प्रत्येक १० वटा अमेरिकी डिपोजिटरी सेयर एक साधारण सेयर बराबर हुने व्यवस्था गरिएको छ।

यो सूचीकरण अमेरिकामा कुनै पनि विदेशी कम्पनीले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो आईपीओ बनेको छ। यसअघि सन् २०१४ मा चिनियाँ ई-वाणिज्य कम्पनी अलिबाबाले २५ अर्ब डलर उठाएर बनाएको कीर्तिमानलाई एसके हाइनिक्सले उछिनेको हो। विश्वव्यापी रूपमा भने यो सूचीकरण स्पेस एक्सकाे ८५.७ अर्ब डलरको सूचीकरणपछि दोस्रो ठूलो इक्विटी अफरिङका रूपमा दर्ज भएको छ।

यस आईपीओमा लगानीकर्ताको उत्साह अपेक्षाभन्दा धेरै उच्च देखिएको छ। ब्लुमबर्गका अनुसार कम्पनीले उपलब्ध गराएको सेयरभन्दा सात गुणाभन्दा बढी माग परेको थियो। करिब १७१ अर्ब डलर बराबरका खरिद आदेश प्राप्त भएपछि कम्पनीले लक्ष्यअनुसारको रकम सहजै उठाएको हो। यसमा विश्वका दीर्घकालीन संस्थागत कोष, प्रविधि क्षेत्रमा लगानी गर्ने फन्ड, सार्वभौम सम्पत्ति कोष तथा एसियामा केन्द्रित अन्तर्राष्ट्रिय लगानीकर्ताको उल्लेख्य सहभागिता रहेको जनाइएको छ।

कम्पनीले यो रकम मुख्यतः दक्षिण कोरियामा नयाँ चिप उत्पादन कारखाना निर्माण, अत्याधुनिक उत्पादन उपकरण खरिद तथा कृत्रिम बुद्धिमत्ता डेटा केन्द्रका लागि आवश्यक उच्च ब्यान्डविथ मेमोरी (एचबीएम) चिपको उत्पादन क्षमता विस्तारमा खर्च गर्ने योजना बनाएको छ।

एसके हाइनिक्स हाल एआई चिप कम्पनी एनभिडियाका लागि उच्च ब्यान्डविथ मेमोरी चिपको प्रमुख आपूर्तिकर्तामध्ये एक हो। विश्वभर एआई डेटा सेन्टर विस्तारसँगै यस्ता चिपको माग तीव्र रूपमा बढेकाले कम्पनीको आम्दानी र नाफामा पनि ऐतिहासिक वृद्धि भएको छ। चालु वर्षको पहिलो त्रैमासिकमा कम्पनीको खुद नाफा ४०.३४ ट्रिलियन वन (करिब २६.६ अर्ब अमेरिकी डलर) पुगेको थियो।

यस वर्षको सुरुदेखि कम्पनीको सेयर मूल्य दक्षिण कोरियाको बजारमा करिब २३० प्रतिशतभन्दा बढी बढिसकेको छ। गत मे महिनामा कम्पनी एक ट्रिलियन अमेरिकी डलरभन्दा बढी बजार मूल्य भएका विश्वका चुनिएका कम्पनीहरूको समूहमा समेत प्रवेश गरेको थियो।

एसके हाइनिक्स र सामसम इलेक्ट्राेनक्सले हालै दक्षिण कोरियाका राष्ट्रपति ली जे–म्युङले घोषणा गरेको एक ट्रिलियन डलरको एआई लगानी कार्यक्रममा पनि सहभागिता जनाएका छन्। दुवै कम्पनीले आफ्ना आपूर्तिकर्तासँग मिलेर ५१८ अर्ब डलर लगानी गर्दै अत्याधुनिक चिप उत्पादन केन्द्र निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्