विशेष अदालतबाट सफाइ पाएपछि नेपाल टेलिकमकाे प्रबन्ध निर्देशकमा अर्यालको पुनर्बहाली « Arthapath.com
२९ असार २०८३, सोमबार

विशेष अदालतबाट सफाइ पाएपछि नेपाल टेलिकमकाे प्रबन्ध निर्देशकमा अर्यालको पुनर्बहाली



काठमाडौं। नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)की प्रबन्ध निर्देशक संगीता पहाडी अर्याल पुनर्बहाल भएकी छन्।

विशेष अदालतबाट आफूविरुद्ध लागेको आरोपमा सफाइ पाएपछि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको असार २६ गतेको मन्त्रीस्तरीय निर्णयअनुसार उनको निलम्बन फुकुवा गरिएको हो।

पुनर्बहालीसँगै पदबहाली कार्यक्रममा सम्बोधन गर्दै प्रबन्ध निर्देशक अर्यालले संस्था र देशको हितमा निष्ठापूर्वक काम गर्न कर्मचारीले डराउन नपर्ने बताइन्। उनले कर्मचारीमाथि विगतमा लागेको आरोप र भ्रम अन्ततः सत्यबाट हटेको उल्लेख गर्दै आफ्नो अनुपस्थितिमा संस्थालाई नेतृत्व र सहयोग गर्ने सम्पूर्ण टोलीप्रति आभार व्यक्त गरिन्।

अर्यालले कम्पनीमा प्रक्रियागत सुधार आवश्यक रहेको औंल्याउँदै आगामी दिनमा आन्तरिक व्यवस्थापनसँगै बाह्य सरोकारलाई पनि ध्यानमा राखेर काम गरिने बताइन्। नेपाल सरकारको नीति तथा मार्गनिर्देशनअनुसार सत्यनिष्ठ र पारदर्शी रूपमा काम गर्दै नेपाल टेलिकमप्रतिको जनविश्वास र बजारको साख थप मजबुत बनाउने तथा सेवालाई अझ ग्राहकमैत्री बनाउने प्रतिबद्धता पनि उनले व्यक्त गरिन्।

नेपाल टेलिकमले गुणस्तरीय दूरसञ्चार सेवा प्रवाह, कानुनी शासनको सम्मान तथा दूरसञ्चार क्षेत्रको अग्रणी संस्थाका रूपमा आफ्नो भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न प्रतिबद्ध रहेको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्