वर्षाका कारण कान्ति लोकपथमा सवारी आवागमन बन्द
काठमाडौं । लगातारको वर्षाका कारण सडक खण्ड जोखिमपूर्ण बनेपछि कान्ति लोकपथमा सवारी साधन सञ्चालनमा पूर्ण रोक लगाइएको छ ।
ललितपुर र मकवानपुर जिल्ला प्रशासनको समन्वयमा आज बिहान ५ बजेदेखि भोलि बिहान ६ बजेसम्मका लागि यस मार्ग हुँदै चल्ने सार्वजनिक, निजी तथा यात्रुवाहक सवारी साधनको आवागमन अस्थायी रूपमा बन्द गरिएको हो । यात्रु र सवारीसाधनको सुरक्षालाई उच्च प्राथमिकता दिँदै यो निर्णय गरिएको ललितपुरकी सहायक प्रमुख जिल्ला अधिकारी सुप्रभा ढुङ्गेल खनालले जानकारी दिइन् ।
मनसुनजन्य विपद्बाट हुन सक्ने सम्भावित भौतिक तथा मानवीय क्षति कम गर्नका लागि जिल्ला प्रशासन कार्यालयले सर्वसाधारण र यातायात व्यवसायी दुवैलाई उच्च सतर्कता अपनाउन अपिल गरेको छ । प्रशासनले नागरिकहरूलाई अत्यावश्यक कामबाहेक यात्रा नगर्न र मौसम तथा सडकको अवस्थाबारे आधिकारिक निकायबाट आउने सूचनाहरू नियमित रूपमा हेर्न अनुरोध समेत गरेको छ ।
यात्राका क्रममा वा अन्य कतै कुनै पनि प्रकारको विपद्जन्य दुर्घटना वा आपत्कालीन अवस्था आइपरेमा तत्काल ललितपुरको जिल्ला आपत्कालीन कार्यसञ्चालन केन्द्रको नि:शुल्क नम्बर १२३४ मा सम्पर्क गर्न भनिएको छ । यसका साथै, सम्बन्धित स्थानीय तह, जनप्रतिनिधि वा नजिकैको सुरक्षा निकाय र स्थानीय प्रशासनमा पनि तुरुन्त जानकारी गराउन प्रशासनले आग्रह गरेको छ ।













