देशको वर्तमन अवस्था : रेमिट्यान्स र विदेशी मुद्रा सञ्चितिमा नयाँ रेकर्ड, महँगीले भने थप्यो चुनौती
काठमाडौं । देशको बाह्य आर्थिक सूचक बलियो बन्दै गएको छ । विदेशिने नेपालीले पठाउने रेमिट्यान्स र नेपालसँग भएको विदेशी मुद्राको मौज्दातले अहिलेसम्मकै नयाँ रेकर्ड बनाएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनाको विवरण अनुसार देशको शोधनान्तर स्थिति र विदेशी मुद्राको भण्डार निकै सुरक्षित अवस्थामा पुगेको हो । तर, बाह्य सूचक उत्साहजनक देखिँदा आन्तरिक बजारमा भने उपभोक्ताले चर्को महँगीको सामना गर्नु परिरहेको छ ।
राष्ट्र बैंकको तथ्याङ्क अनुसार समीक्षा अवधिमा देशको शोधनान्तर स्थिति ९ खर्ब २६ अर्ब ६ करोड रुपैयाँले बचतमा छ । त्यस्तै, देशको चालु खाता पनि ८ खर्ब २ अर्ब ६ करोड रुपैयाँले बचतमा रहनुले बाह्य क्षेत्र बलियो भएको देखाउँछ ।
समग्रमा भन्दा अहिले देशको अर्थतन्त्र बाहिरबाट हेर्दा निकै मजबुत देखिए पनि देशभित्र सर्वसाधारणको दैनिकी भने महँगीका कारण केही कष्टकर बन्दै गएको छ ।
रेमिट्यान्सको बाढी: ११ महिनामै भित्रियो २१ खर्ब २० अर्ब
देशको अर्थतन्त्र धान्ने मुख्य आधार बनेको रेमिट्यान्स (विप्रेषण आप्रवाह) मा यो वर्ष निकै ठूलो उत्साह देखिएको छ । ११ महिनाको अवधिमा रेमिट्यान्स ३८.२ प्रतिशतले बढेर २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ ।
अमेरिकी डलरमा हेर्ने हो भने पनि रेमिट्यान्स प्रवाह २९.६ प्रतिशतले बढेर १४ अर्ब ५९ करोड डलर पुगेको छ ।
जेठ महिनामा मात्रै नेपालमा २ खर्ब ३ अर्ब ८९ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या ३ लाख ६७ हजार २११ र पुन: श्रम स्वीकृति लिनेको सङ्ख्या ३ लाख ५५ हजार ७३५ रहेको छ । यही जनशक्तिको पसिनाको जगमा मुलुकको विदेशी मुद्रा आर्जन मुख्य स्रोत बलियो बनेको हो ।
बजारमा महँगीको मार: जेठमा मात्रै ५.२२ प्रतिशत पुग्यो
बाह्य सूचक चम्किँदा देशभित्रको बजारमा भने उपभोक्तालाई महँगीले पिरोलेको छ । २०८३ जेठ महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ५.२२ प्रतिशत पुगेको छ । जब कि अघिल्लो वर्षको जेठमा यो दर २.७२ प्रतिशत मात्रै थियो । ११ महिनाको औसत महँगी दर २.८९ प्रतिशत रहे पनि पछिल्ला महिनामा महँगी तीव्र गतिमा उकालो लागिरहेको छ ।
यसपालि खाद्यान्न अन्तर्गत फलफूलको मूल्य सबैभन्दा धेरै १७.४० प्रतिशतले बढेको छ। घिउ तथा तेल १५.१० प्रतिशत, माछा मासु ५.२६ प्रतिशत र तरकारीको मूल्य ४.१४ प्रतिशतले महँगिएको छ ।
यसैगरी यातायात भाडा १५.३१ प्रतिशत र लत्ताकपडा तथा जुत्ता चप्पलको मूल्य ५.५३ प्रतिशतले बढेपछि सर्वसाधारणको भान्सा र दैनिकी निकै खर्चिलो बन्न पुगेको छ ।
डलर सञ्चितिमा ऐतिहासिक सफलता: १९ महिनाको आयात धान्न सक्ने
नेपालसँग भएको विदेशी विनिमय सञ्चिति (डलरको भण्डार) अहिले सम्मकै उच्च बिन्दुमा पुगेको छ । असार मसान्तको तुलनामा जेठ मसान्तसम्म विदेशी मुद्रा सञ्चिति ४०.३ प्रतिशतले बढेर ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ। अमेरिकी डलरमा यो सञ्चिति २४ अर्ब ६८ करोड डलर हो ।
यो विदेशी मुद्राको जग कति बलियो छ भने यसले नेपाललाई ढुक्कसँग १९.१ महिना अर्थात् झन्डै डेढ वर्षभन्दा बढी समयको वस्तु र सेवा आयात धान्न पर्याप्त हुन्छ । दक्षिण एसियाली मुलुकहरूमा नेपालको यो सञ्चिति निकै लोभलाग्दो र सुरक्षित मानिन्छ ।
व्यापार र सेयर बजारको संक्षिप्त चित्र
यो अवधिमा नेपालको कुल वस्तु निर्यात १२.३ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९७ करोड रुपैयाँ पुगेको छ भने आयात १५.२ प्रतिशतले बढेर १९ खर्ब ५४ अर्ब १० करोड रुपैयाँ पुगेको छ । आयात धेरै हुँदा व्यापार घाटा १५.७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ करोड रुपैयाँ पुगेको छ ।
उता सेयर बजारमा भने सामान्य सुधार देखिएको छ । अघिल्लो वर्षको जेठमा २६५५.३९ बिन्दुमा रहेको नेप्से सूचक यो जेठ मसान्तमा बढेर २७२४.०३ बिन्दुमा पुगेको छ । धितोपत्र बजारको कुल पूँजीकरण ४६ खर्ब ५४ अर्ब ५५ करोड रुपैयाँ कायम भएको छ । जसले लगानीकर्तामा विस्तारै विश्वास फर्किँदै गरेको संकेत गर्छ ।













