असार मसान्तले बढायो चाप, यातायात सर्भर थप दुई दिन प्रभावित हुने « Arthapath.com
३० असार २०८३, मंगलबार

असार मसान्तले बढायो चाप, यातायात सर्भर थप दुई दिन प्रभावित हुने



काठमाडौं । यातायात सर्भरमा देखिएको समस्या थप दुई दिन कायम रहने देखिएको छ। असार मसान्तका कारण बढेको अत्यधिक चापले यातायात व्यवस्थापन प्रणालीमा देखिएको समस्या भाेली र पर्सी दुई दिनसम्म कायम रहन सक्ने यातायात व्यवस्था विभागले जनाएकाे छ।

यातायात व्यवस्था विभागका सूचना अधिकारी गणेशमान सिं राईका अनुसार देखिएको समस्या अनलाइन प्रणाली बिग्रिएको नभई असार मसान्तका कारण एकैपटक अत्यधिक सेवाग्राहीले प्रणाली प्रयोग गर्दा उत्पन्न भएको हो।

‘क्लोजिङको बेला भएकाले भोलि र पर्सिसम्म पनि चाप रहने देखिन्छ। त्यसपछि प्रणाली सहज रूपमा सञ्चालन हुन्छ,’ उनले भने, ‘यो प्रणाली नै बिग्रिएको होइन, असार मसान्तमा अत्यधिक चाप बढेकाले केही समस्या देखिएको हो।’

सर्भरमा आएको दबाबका कारण ट्रायल परीक्षा उत्तीर्ण गरेका सेवाग्राहीले राजस्व तिर्ने प्रणालीमा समेत समस्या भोगिरहेका छन्। राजस्व भुक्तानी हुन नसक्दा लाइसेन्स जारी गर्ने प्रक्रिया प्रभावित भएको छ।

राईका अनुसार केही यातायात कार्यालयमा भने समस्या समाधान भइसकेको छ। राधेराधे र ठूलो भर्‍याङलगायतका कार्यालयमा सेवा क्रमशः सामान्य बन्दै गएको उनले बताए। अन्य प्रभावित कार्यालयमा पनि प्राविधिक टोलीले समस्या समाधानका लागि काम गरिरहेको विभागको भनाइ छ।

पछिल्ला दुई दिनयता देशका विभिन्न यातायात व्यवस्था कार्यालयमा सर्भरमा चाप बढेपछि लाइसेन्स, नवीकरण, सवारी दर्तालगायतका सेवाहरू प्रभावित भएका छन्। विभागले आर्थिक वर्ष सकिएसँगै चाप घट्ने र प्रणाली नियमित अवस्थामा फर्किने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्