समस्याग्रस्त सहकारीका २१ सय बढी बचतकर्ताको २ करोड ८३ लाख फिर्ता
काठमाडौं। नयाँ सरकार गठनपछि समस्याग्रस्त सहकारीको बचत फिर्ता र ऋण असुली प्रक्रियामा प्रगति भएको देखिएको छ।भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सार्वजनिक गरेको अद्यावधिक विवरणअनुसार समस्याग्रस्त सहकारीका २ हजार १११ जना बचतकर्तालाई कुल २ करोड ८३ लाख रुपैयाँ बचत फिर्ता गरिएको छ। त्यसैगरी, समस्याग्रस्त सहकारीबाट १६४ जना ऋणीबाट ४ करोड ६८ लाख रुपैयाँ ऋण असुल गरिएको छ।

सरकारले समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गराउने, सहकारीको सम्पत्ति व्यवस्थापन गर्ने तथा ऋण असुलीलाई तीव्र बनाउने अभियानलाई प्राथमिकताका साथ अघि बढाएको जनाएको छ। सार्वजनिक गरिएको तथ्यांकले बचत फिर्ता र ऋण असुली दुवै प्रक्रियामा क्रमिक प्रगति भइरहेको देखाएको छ।
सरकारले आगामी दिनमा थप बचतकर्तालाई रकम फिर्ता गर्ने तथा ऋण असुलीलाई अझ प्रभावकारी बनाउने लक्ष्यका साथ काम गरिरहेको जनाएको छ। २०८३ असार २३ सम्मको तथ्यांकअनुसार हालसम्म २.८३ करोड रुपैयाँ बचत फिर्ता भइसकेको र ४.६८ करोड रुपैयाँ ऋण असुल भइसकेको छ।













