आइक्यान चुनावमा राजनीतिक चलखेलको आरोप, सरुवा भएका सहसचिवको सक्रियतामाथि प्रश्न « Arthapath.com
३१ असार २०८३, बुधबार

आइक्यान चुनावमा राजनीतिक चलखेलको आरोप, सरुवा भएका सहसचिवको सक्रियतामाथि प्रश्न



काठमाडौं । नेपाल चार्टर्ड एकाउण्टेन्ट्स संस्था (आइक्यान) को अध्यक्ष तथा उपाध्यक्ष पदको निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल तातेको छ। निर्वाचन असार ३२ गते बिहीबार हुँदैछ।

अध्यक्ष पदका लागि आनन्दराज वाग्ले र ठाकुरप्रसाद अधिकारी तथा उपाध्यक्ष पदका लागि अमन उप्रेती र हेमकुमार काफ्ले प्रतिस्पर्धामा छन्।

यसैबीच, आइक्यानको १७ सदस्यीय परिषद्मा नेपाल सरकारले नियुक्त गर्ने तीन सदस्यको पद रिक्त रहेकामा सरकारले हालै बालकृष्ण थापा, टंकप्रसाद पाण्डे र दीपक लामिछानेलाई परिषद् सदस्यमा नियुक्त गरेको छ। उनीहरूले मंगलबार पद तथा गोपनीयताको शपथ लिएका छन्।

निर्वाचनको पूर्वसन्ध्यामा हालै सरुवा भएका दुई सहसचिव निर्वाचनमा प्रभाव पार्न सक्रिय भएको आरोप सार्वजनिक भएको छ। स्रोतका अनुसार महालेखा नियन्त्रकको कार्यालयबाट मधेश प्रदेशमा सरुवा भएका शोभाकान्त पौडेल र अर्थ मन्त्रालयबाट गण्डकी प्रदेशमा सरुवा भएका भूपाल बराल निर्वाचनको परिणाम आफ्नो पक्षमा पार्न विभिन्न तहमा सक्रिय भएका छन्।

उनीहरूले नेपाल सरकारबाट नियुक्त नयाँ परिषद् सदस्यहरूमाथि प्रभाव पार्ने प्रयास गरिरहेको दाबी गरिएको छ। स्रोतका अनुसार उनीहरू अध्यक्ष पदका उम्मेदवार आनन्दराज वाग्ले र उपाध्यक्ष पदका उम्मेदवार अमन उप्रेतीको पक्षमा वातावरण बनाउन सक्रिय छन्।

यस विषयमा अर्थमन्त्रीको सचिवालय तथा प्रधानमन्त्रीको सचिवालयले समेत चासो दिएको स्रोतको दाबी छ।


प्रतिक्रिया दिनुहोस्