महिला उद्यमीको विकासमा सरकार प्रतिबद्ध, ‘म उद्यमी’ ब्रान्डलाई बजारमा स्थापित गर्न प्रधानमन्त्रीको जोड
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले महिला उद्यमीहरूको उद्यमशीलता विकास तथा व्यवसाय विस्तारका लागि आवश्यक सहयोग गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन्।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा महिला उद्यमी महासंघ नेपालका पदाधिकारीसँग भएको छलफलमा उनले महिला उद्यमीले भोगिरहेका समस्या समाधान गर्न सरकार सक्रिय रहेको उल्लेख गरे। साथै, महिलाले उत्पादन गरेका वस्तुलाई देशका प्रमुख पर्यटकीय गन्तव्यसम्म प्रवर्द्धन गर्ने वातावरण निर्माण गरिने बताए।
भेटका क्रममा महासंघले व्यवसाय सञ्चालनका लागि अनुकूल वातावरण सिर्जना गर्न, महिला उद्यमीका उत्पादन तथा सेवाको राष्ट्रिय र अन्तर्राष्ट्रिय बजार विस्तार गर्न विशेष कार्यक्रम सञ्चालन गर्न तथा व्यापार मेला, प्रदर्शनी, बिजनेस म्याचिङ र निर्यात प्रवर्द्धन कार्यक्रममा अनिवार्य सहभागिताको व्यवस्था गर्न सरकारसँग आग्रह गरेको थियो।
महासंघले अघि सारेको ‘म उद्यमी’ ट्रेडमार्क ब्रान्डलाई बजारमा स्थापित गर्न सहयोगको अनुरोध गर्दै प्रधानमन्त्रीलाई ध्यानाकर्षण गराएको थियो। प्रधानमन्त्री शाहले उक्त ब्रान्डलाई शीघ्र बजारमा ल्याई प्रभावकारी रूपमा प्रवर्द्धन गर्न सुझाव दिएका छन्।
यस्तै, महासंघले आयोजना गर्दै आएको वार्षिक अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेलामा सरकारको संस्थागत सहकार्य आवश्यक रहेको पनि जनाएको छ।
महिला उद्यमीहरूले सार्वजनिक खरिद प्रणालीमा आफ्नो पहुँच बढाउन सार्वजनिक खरिद ऐन तथा नियमावलीमा आवश्यक संशोधन गरी सरकारी कार्यालय र शैक्षिक संस्थाले महिलाद्वारा उत्पादित वस्तु तथा सेवा खरिदलाई प्राथमिकता दिनुपर्ने माग गरेका छन्।
उनीहरूले वित्तीय सहुलियत वास्तविक महिला उद्यमीसम्म पर्याप्त रूपमा नपुगेको गुनासो गर्दै यस्तो सुविधा ग्रामीण तहसम्म विस्तार गर्न, धितो अभावका कारण उद्यम प्रभावित नहोस् भन्ने उद्देश्यले वैकल्पिक वित्तीय व्यवस्था गर्न पनि सरकारसँग आग्रह गरेका छन्।
महिला उद्यमीहरूको छाता संगठन महिला उद्यमी महासंघलाई सरकारी नीति निर्माण प्रक्रियामा सहभागी गराउनुपर्ने मागसमेत गरिएको छ। साथै, स्थानीय तहमा सञ्चालन हुने सीपमूलक तालिमका लागि दक्ष प्रशिक्षक उपलब्ध गराउन महासंघले आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।













