मन्दीका बीच पनि रिद्धि सिद्धि सिमेन्टको बजारमा दबदबा, ९ महिनामै गर्यो झन्डै ४ अर्बको व्यापार
काठमाडौँ । नेपालको अग्रणी सिमेन्ट उत्पादकमध्ये एक रिद्धि-सिद्धि सिमेन्ट लिमिटेडले पछिल्ला वर्षहरूमा चुनौतीपूर्ण बजारका बीच पनि आफ्नो व्यापार विस्तारलाई निरन्तरता दिएको छ।
सञ्चालन नाफामा केही दबाब देखिए पनि वित्तीय संरचनामा सुधार, ऋण तिर्ने क्षमतामा भएको प्रगति तथा प्रवर्द्धक समूहको बलियो संस्थागत आधारले कम्पनीको समग्र व्यवसायिक अवस्था अझै सन्तोषजनक रहेको मूल्याङ्कन गरिएको छ।
शंकर ग्रुप र अम्बे ग्रुपको संयुक्त लगानीमा सञ्चालित कम्पनीले आफ्नै क्लिङ्कर उत्पादन, पर्याप्त चुनढुंगा खानी तथा देशव्यापी वितरण सञ्जालका कारण बजारमा बलियो उपस्थिति बनाएको छ।
यही आधारलाई मध्यनजर गर्दै इन्फोमेरिक्स नेपालले कम्पनीको ८ अर्ब १४ करोड ९१ लाख रुपैयाँ बराबरको दीर्घकालीन कर्जालाई ‘आईआरएन बीबीबी माइनस’ तथा ४ अर्ब ६ करोड ५३ लाख रुपैयाँ बराबरको अल्पकालीन कर्जालाई ‘आईआरएन ए–३’ रेटिङलाई पुनः यथावत् राखेको छ।
कम्पनीको सञ्चालन आम्दानी पछिल्ला वर्षमा उतारचढावबीच पुनः वृद्धि हुन थालेको देखिन्छ। चालु आर्थिक वर्ष २०२६ को पहिलो ९ महिनामा ३ अर्ब ८९ करोड ३० लाख रूपैयाँ बराबरकाे व्यापार गरेकाे छ।
अघिल्ला वर्षहरू सन् २०२२ मा कम्पनीले ६ अर्ब ४८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो। त्यसपछि आर्थिक वर्ष २०२३ मा व्यापार घटेर ५ अर्ब ४६ करोड ७० लाख रुपैयाँ मा सीमित भयो।
तर आर्थिक वर्ष २०२४ देखि कम्पनीले पुनः सुधारको बाटो समात्यो। उक्त वर्ष सञ्चालन आम्दानी बढेर ५ अर्ब ८१ करोड २० लाख रुपैयाँ पुग्यो भने आर्थिक वर्ष २०२५ मा थप वृद्धि हुँदै ५ अर्ब ९८ करोड १० लाख रुपैयाँ पुगेको छ।
यद्यपि व्यापार बढे पनि कच्चा पदार्थको लागत बढ्दा तथा बिक्री खर्च बढ्दै जाँदा सञ्चालन नाफामा भने केही दबाब देखिएको छ। आर्थिक वर्ष २०२४ मा करिब २५ प्रतिशत रहेको सञ्चालन नाफा (ईबिट्डा) मार्जिन आर्थिक वर्ष २०२५ मा घटेर २०.९ प्रतिशत मा झरेको छ। चालु आर्थिक वर्षको पहिलो नौ महिनामा पनि सञ्चालन नाफा मार्जिन थप घटेर करिब १९ प्रतिशत मा सीमित भएको छ।
तर सञ्चालन नाफा घटे पनि ब्याज खर्च कम भएकाले कम्पनीको खुद नाफामा भने उल्लेखनीय सुधार देखिएको छ। आर्थिक वर्ष २०२४ मा करिब ४ करोड १० लाख रुपैयाँ रहेको खुद नाफा आर्थिक वर्ष २०२५ मा बढेर ८ करोड २० लाख रुपैयाँ पुगेको छ। यससँगै कम्पनीकाे नगद सञ्चिति पनि बढेको छ ।
कम्पनीको ऋणको आकार अझै ठूलो रहे पनि ऋण तिर्ने क्षमतामा भने क्रमिक सुधार देखिएको छ। आर्थिक वर्ष २०२५ मा कम्पनीको ब्याज भुक्तानी क्षमता १.४४ गुणा पुगेको छ, जुन अघिल्लो वर्ष १.३१ गुणा थियो। यसको अर्थ कम्पनीले सञ्चालन आम्दानीबाट ब्याज तिर्न सक्ने क्षमता विस्तारै मजबुत बनाउँदै लगेको देखिन्छ। चालु आर्थिक वर्ष २०२६ को मध्य अप्रिलसम्म यो सूचक थप बढेर १.५० गुणा पुगेको छ।
त्यस्तै, ऋण सेवा भुक्तानी क्षमता पनि आर्थिक वर्ष २०२४ को १.३४ गुणा बाट बढेर आर्थिक वर्ष २०२५ मा १.४६ गुणा पुगेको छ। यसले कम्पनीले सञ्चालन नगद प्रवाहबाट किस्ता र ब्याज भुक्तानी गर्ने क्षमता अघिल्लो वर्षको तुलनामा सुधारिएको संकेत गर्छ।
त्यस्तै, नेटवर्थको तुलनामा बाह्य दायित्व पनि अघिल्लो वर्षको ४.४४ गुणा बाट घटेर ३.२३ गुणा मा झरेको थियो। चालु आर्थिक वर्षमा यो अनुपात सामान्य बढेर ३.३४ गुणा पुगे पनि कम्पनीको वित्तीय आधार अघिल्लो वर्षको तुलनामा अझ सुदृढ बनेको मूल्याङ्कन गरिएको छ।
यद्यपि कम्पनीको कुल ऋण अझै उच्च छ। आर्थिक वर्ष २०२५ सम्म कम्पनीको कुल ऋण करिब १० अर्ब ८१ कराेड रहेको थियो भने चालु आर्थिक वर्षको मध्य अप्रिलसम्म कार्यशील पुँजी कर्जा बढेसँगै यो बढेर करिब ११ अर्ब २६ करोड ६० लाख रुपैयाँ पुगेको छ।
रिद्धि–सिद्धि सिमेन्टको अर्को प्रमुख चुनौती कार्यशील पुँजी व्यवस्थापन हो। आर्थिक वर्ष २०२५ मा कम्पनीको कार्यशील पुँजी तीव्रता ५३ प्रतिशतबाट बढेर ६१ प्रतिशत पुगेको छ। यसको मुख्य कारण मौज्दात उल्लेखनीय रूपमा बढ्नु हो।
कम्पनीको औसत मौज्दात अवधिसमेत २३४ दिनबाट बढेर २५८ दिन पुगेको छ। ग्राहकबाट रकम उठाउन लाग्ने समय भने करिब ५३ दिन कै हाराहारीमा स्थिर रहेको छ।
अर्कोतर्फ, आपूर्तिकर्तालाई भुक्तानी गर्ने अवधि १२१ दिनबाट घटेर १०९ दिन मा सीमित भएकाले सञ्चालन चक्र १६७ दिनबाट बढेर २०२ दिन पुगेको छ। यसले कम्पनीलाई दैनिक सञ्चालनका लागि थप कार्यशील पुँजी आवश्यक परेको देखाउँछ।













