युवाका आकांक्षाअनुसार जनसांख्यिकीय नीति बनाउन सरकार–युएनएफपिएको जोड
काठमाडौं । नेपालको जनसांख्यिकीय नीति तथा विकास योजनामा युवाका आकांक्षा र अनुभवलाई समेट्ने उद्देश्यका साथ नेपाल सरकार, राष्ट्रिय युवा परिषद् र संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपिए) ले संयुक्त पहल अघि बढाएका छन्।
विश्व जनसंख्या दिवस २०२६ को अवसरमा आयोजित कार्यक्रममा नीति निर्माता र १५० भन्दा बढी युवाबीच जनसांख्यिकीय परिवर्तन, विकास नीति तथा युवाको भूमिकाबारे विस्तृत छलफल गरिएको थियो।
कार्यक्रममा युएनएफपिएले ‘जनसांख्यिकीय भविष्य सर्वेक्षण’ को नेपाल संस्करण सार्वजनिक गरेको छ। ७३ देशका करिब एक लाख नौ हजार युवाको सहभागितामा गरिएको उक्त अध्ययनले युवाहरूले सुखी परिवार, राम्रो सम्बन्ध र प्रजनन अधिकारलाई अझै प्राथमिकतामा राखे पनि आर्थिक अनिश्चितता, रोजगारीको अभाव, आवास समस्या तथा अन्य संरचनागत चुनौतीका कारण उनीहरूको भविष्यप्रतिको योजना प्रभावित भइरहेको देखाएको छ।
प्रतिनिधिसभाको स्वास्थ्य, शिक्षा तथा सूचना प्रविधि समितिका सभापति डा. ओजस्वी शेरचनले बदलिँदो विश्व परिवेशअनुसार तथ्यमा आधारित र युवाकेन्द्रित नीति निर्माण आवश्यक रहेको बताए। पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको डिजिटल क्षमताको समन्वयबाट मात्रै प्रभावकारी समाधान सम्भव हुने उनको भनाइ थियो।
नेपाल अहिले युवा जनसंख्याबाट वृद्ध समाजतर्फ संक्रमणको चरणमा रहेको तथा तीव्र शहरीकरण र उच्च बसाइँसराइको प्रभाव सामना गरिरहेको सन्दर्भमा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख गेहनाथ गौतमले जनसांख्यिकीय लाभांशको अधिकतम उपयोग गर्नुपर्ने आवश्यकता औंल्याए। निर्माणाधीन ‘जनसांख्यिकीय लाभांश खाका’ मा युवाका वास्तविक अनुभव र सुझावलाई समावेश गर्नुपर्नेमा उनले जोड दिए।
युएनएफपियाका नेपाल प्रतिनिधि श्रीराम हरिदासले जनसांख्यिकीय परिवर्तन केवल जनसंख्याको तथ्यांक नभई नागरिकको आकांक्षा, अवसर र छनोटसँग प्रत्यक्ष जोडिएको विषय भएको बताए। प्रत्येक युवाले आफ्नो सम्भावना पूरा गर्न आवश्यक अवसर, सूचना र सहयोग उपलब्ध गराउनु राज्यको जिम्मेवारी रहेको उनको भनाइ थियो।
कार्यक्रममा युवा, श्रम तथा रोजगार मन्त्रालय, राष्ट्रिय योजना आयोग तथा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका प्रतिनिधिको समेत सहभागिता रहेको थियो। निष्कर्ष प्रस्तुतिपछि आयोजित अन्तरपुस्ता संवादमा युवा प्रतिनिधिहरूले रोजगारी, बसाइँसराइ, पारिवारिक जीवन र अभिभावकत्वसँग सम्बन्धित चुनौतीबारे आफ्ना धारणा राखेका थिए।
युवा अभियन्ता रीता थापाले अधिकांश युवाले गुणस्तरीय शिक्षा, करियर विकास र सुखद पारिवारिक जीवनको चाहना राखे पनि व्यावहारिक तथा संरचनागत अवरोधका कारण ती लक्ष्य हासिल गर्न कठिनाइ भइरहेको बताइन्।













