औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको निर्णयविरुद्ध उद्योगी आक्रोशित, दिए आन्दोलनको चेतावनी
काठमाडौँ । नेपाल औद्योगिक क्षेत्र उद्योग महासंघले औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको सञ्चालक समितिबाट उद्योगीहरूको प्रतिनिधित्व हटाउने सरकारको निर्णयप्रति गम्भीर असहमति जनाएको छ।
महासंघले उक्त निर्णय उद्योगीहरूको सहभागितामाथिको हस्तक्षेप भएको भन्दै तत्काल फिर्ता लिन सरकारसँग माग गरेको छ।
महासंघले आज जारी गरेको प्रेस विज्ञप्तिमा औद्योगिक क्षेत्रभित्र सञ्चालित उद्योगहरूको हकहित संरक्षण, समस्या समाधान तथा उद्योगमैत्री वातावरण निर्माणमा सञ्चालक समितिमा उद्योगी प्रतिनिधिको भूमिका महत्वपूर्ण रहँदै आएको उल्लेख गरेको छ। उद्योगीसँग कुनै छलफल वा परामर्श नगरी एकपक्षीय रूपमा प्रतिनिधित्व हटाउने निर्णय गर्नु लोकतान्त्रिक मान्यता र सुशासनको सिद्धान्तविपरीत भएको महासंघको भनाइ छ।
महासंघका अनुसार औद्योगिक क्षेत्रको विकास र उद्योगसम्बन्धी समस्याको व्यावहारिक समाधानका लागि नीति निर्माण तहमा उद्योगीहरूको प्रत्यक्ष सहभागिता आवश्यक छ। उद्योगीको प्रतिनिधित्वविना गरिने निर्णयले औद्योगिक क्षेत्रको व्यवस्थापन र सञ्चालन थप जटिल बन्ने तथा उद्योगमैत्री वातावरण कमजोर हुने दाबी गरिएको छ।
महासंघले सरकारलाई उक्त निर्णय तत्काल खारेज गरी सञ्चालक समितिमा उद्योगीहरूको प्रतिनिधित्व यथावत् सुनिश्चित गर्न आग्रह गरेको छ। यस मागलाई बेवास्ता गरिए थप कडा आन्दोलनका कार्यक्रम घोषणा गर्न बाध्य हुने चेतावनी पनि महासंघले दिएको छ।
आन्दोलनको पहिलो चरणअन्तर्गत देशभरका औद्योगिक क्षेत्रमा सञ्चालित उद्योगमा कालो झण्डा राख्ने, आज (साउन १ गते) आयोजना हुने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको वार्षिकोत्सव कार्यक्रम बहिष्कार गर्ने तथा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड र त्यसका शाखा कार्यालयहरूले आयोजना गर्ने कार्यक्रम तथा बैठकमा महासंघका पदाधिकारी र उद्योगीहरू सहभागी नहुने निर्णय गरिएको महासंघले जनाएको छ।














