फिफा विश्वकपका प्रत्येक गोललाई हरियालीसँग जोड्दै लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रीन’ अभियान - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

फिफा विश्वकपका प्रत्येक गोललाई हरियालीसँग जोड्दै लक्ष्मी सनराइज बैंकको ‘द गोल इज ग्रीन’ अभियान



काठमाडौं । लक्ष्मी सनराइज बैंकले वातावरण संरक्षण तथा जलवायु कार्यप्रति आफ्नो प्रतिबद्धतालाई थप सुदृढ बनाउने उद्देश्यसहित ‘द गोल इज ग्रीन’ अभियानअन्तर्गत डब्लुडब्लुएफ नेपाल र काम्दी सामुदायिक वन समन्वय समितिसँग सहकार्य गरेको छ।

यस अभियानअन्तर्गत फिफा विश्वकप २०२६ मा हुने प्रत्येक गोल बराबर एक स्वदेशी रूख रोप्ने बैंकको प्रतिबद्धता अनुसार प्रतियोगिताभर भएका ३३३ गोलका आधारमा ३३३ वटा स्वदेशी प्रजातिका रूख रोपिनेछन्। बैंकले विश्वकै सबैभन्दा ठूलो फुटबल प्रतियोगिताको उत्साहलाई नेपालमा वातावरण संरक्षणसँग जोड्ने उद्देश्यले यो पहल अघि बढाएको जनाएको छ।

सहकार्यअनुसार डब्लुडब्लुएफ नेपालले प्राविधिक सहयोग प्रदान गर्नेछ भने काम्दी सामुदायिक वन समन्वय समितिले उपयुक्त स्थानमा स्थानीय वातावरणअनुकूल स्वदेशी प्रजातिका बिरुवा रोप्ने तथा तिनको दीर्घकालीन संरक्षण र हेरचाह गर्नेछ। डब्लुडब्लुएफ नेपालले प्रजाति छनोट, स्थानको उपयुक्तता तथा पारिस्थितिक पुनःस्थापनासम्बन्धी प्राविधिक मार्गदर्शन उपलब्ध गराउनेछ।

लक्ष्मी सनराइज बैंकका प्रमुख कार्यकारी अधिकृत अजय शाहले दिगोपन बैंकको दीर्घकालीन रणनीतिको अभिन्न हिस्सा रहेको उल्लेख गर्दै विश्वकपका प्रत्येक गोललाई वातावरण संरक्षणसँग जोडेर नेपालका लागि दीर्घकालीन हरित सम्पदा निर्माण गर्ने लक्ष्य राखिएको बताए। डब्लुडब्लुएफ नेपालको प्राविधिक अनुभव र स्थानीय समुदायको सहभागिताले अभियानलाई प्रभावकारी बनाउने विश्वास उनले व्यक्त गरे।

डब्लुडब्लुएफ नेपालका कन्ट्री रिप्रेजेन्टेटिभ डा. घनश्याम गुरुङले सफल वन पुनःस्थापना केवल रूख रोप्ने विषय मात्र नभई सही स्थानमा सही प्रजाति रोपेर स्थानीय समुदायको सक्रिय सहभागितासहित दीर्घकालीन संरक्षण सुनिश्चित गर्नु महत्त्वपूर्ण हुने बताए। निजी क्षेत्रको लगानीलाई समुदायमा आधारित संरक्षणसँग जोड्ने यस्ता सहकार्यले प्रकृति, समुदाय र वातावरण सबैलाई दीर्घकालीन लाभ पुग्ने उनको भनाइ छ।

काम्दी सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेन्द्र शाहीले वन जैविक मार्ग (कोरिडोर) पुनःस्थापनाको अभियानलाई बल पुग्ने गरी लक्ष्मी सनराइज बैंक र डब्लुडब्लुएफ नेपालसँगको सहकार्य भएको भन्दै आभार व्यक्त गरे।

बैंकका अनुसार ‘द गोल इज ग्रीन’ अभियानले दिगोपन वित्तीय सेवा र उत्पादनमा मात्र सीमित नरही सामुदायिक सहभागितामार्फत वातावरण संरक्षणलाई पनि प्राथमिकतामा राखेको सन्देश दिन्छ। साथै यस अभियानमार्फत ग्राहक, निजी क्षेत्र र समुदायलाई सामूहिक जलवायु कार्यमा सहभागी हुन प्रेरित गर्ने तथा नेपालको दीर्घकालीन वातावरणीय सुदृढीकरणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

हाल लक्ष्मी सनराइज बैंकका देशभर २५४ शाखा, ३२७ एटिएम तथा सुदृढ डिजिटल बैंकिङ सञ्जाल रहेका छन्। बैंकले वातावरण, सामाजिक उत्तरदायित्व र सुशासन (ईएसजी) का सिद्धान्तलाई आफ्नो रणनीति तथा सञ्चालनमा समेट्दै दिगो वित्त र उत्तरदायी बैंकिङमार्फत समावेशी तथा जलवायु–उत्थानशील अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउँदै आएको जनाएको छ।


प्रतिक्रिया दिनुहोस्