कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

कोरियन भाषा परीक्षाको आवेदन खुल्यो, ७ हजार २ सय संख्या माग



काठमाडौं । दक्षिण कोरियामा रोजगारीका लागि जान इच्छुक नेपाली नागरिकका लागि कोरियन भाषा परीक्षाको आवेदन खुला गरिएको छ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस कोरिया शाखाका अनुसार यसपटक विभिन्न चार क्षेत्रमा गरी ७ हजार २०० जनाको कोटासहित आवेदन माग गरिएको हो।

एचआरडी कोरियाले उत्पादनमूलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १०० र वन क्षेत्रमा १०० जनाको माग पठाएको हो।

इच्छुक उम्मेदवारले जुलाई २७ देखि अगस्ट २, २०२६ सम्म अनलाइनमार्फत आवेदन दिन सक्नेछन्। आवेदन दस्तुर २८ अमेरिकी डलर निर्धारण गरिएको छ।

आवेदकको उमेर १८ वर्ष पूरा भई ३९ वर्ष ननाघेको हुनुपर्नेछ। साथै फौजदारी अभियोगमा सजाय नपाएको, दक्षिण कोरियाबाट गैरकानुनी बसाइका कारण फिर्ता नपठाइएको र नेपाल सरकारले विदेश जान प्रतिबन्ध नलगाएको हुनुपर्ने योग्यता तोकिएको छ।

त्यसैगरी, दक्षिण कोरियामा ई–९ वा ई–१० भिसा अन्तर्गत पाँच वर्ष वा सोभन्दा बढी अवधिसम्म बसोबास गरिसकेका व्यक्तिले आवेदन दिन नपाउने ईपीएस कोरिया शाखाले जनाएको छ।

भाषा परीक्षाको पहिलो चरणको नतिजापछि अर्को चरणको परीक्षा सञ्चालन हुनेछ। अन्तिम परीक्षामा उत्तीर्ण उम्मेदवारको नतिजा दुई वर्षसम्म मान्य हुनेछ।

शाखाले भाषा परीक्षा उत्तीर्ण गरेकै आधारमा दक्षिण कोरियामा रोजगारी सुनिश्चित नहुने स्पष्ट पार्दै अन्तिम छनोट रोजगारदाताको माग र प्रक्रिया अनुसार हुने जनाएको छ।


प्रतिक्रिया दिनुहोस्