वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन, सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित छ: श्रममन्त्री - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

वैदेशिक रोजगारीलाई रोक्न सम्भव छैन, सुरक्षित बनाउनेतर्फ सरकार केन्द्रित छ: श्रममन्त्री



काठमाडौं । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले वैदेशिक रोजगारीलाई पूर्ण रूपमा रोक्नु अहिलेको अवस्थामा सम्भव नभएको भन्दै त्यसलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउनु नै सरकारको प्राथमिकता रहेको बताएका छन्।

मंगलबार वैदेशिक रोजगार विभागको अनुगमनपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै मन्त्री यादवले विश्वव्यापीकरणको वर्तमान परिवेशमा श्रमका लागि एक देशबाट अर्को देशमा जाने क्रम स्वाभाविक रहेको उल्लेख गरे। त्यसैले वैदेशिक रोजगारी बन्द गर्नेभन्दा नेपाली श्रमिकको सुरक्षा, अधिकार र कल्याण सुनिश्चित गर्ने दिशामा सरकार केन्द्रित रहेको उनले बताए।

उनका अनुसार सरकारले नेपाली श्रमिकलाई शोषणबाट जोगाउने, उचित पारिश्रमिक, सुरक्षित कार्यस्थल, आवास तथा आधारभूत सुविधाको सुनिश्चितता हुने श्रम गन्तव्य पहिचान गर्ने प्रयास गरिरहेको छ। यसका लागि उच्च आम्दानी र सुरक्षित रोजगारी उपलब्ध हुने नयाँ श्रम बजारको खोजीलाई पनि तीव्र बनाइएको उनले जानकारी दिए।

मन्त्री यादवले युरोपेली मुलुकलगायत सुरक्षित र आकर्षक श्रम गन्तव्यसँग श्रम सहकार्य विस्तार गर्न आवश्यक पहल भइरहेको उल्लेख गर्दै वैदेशिक रोजगारीलाई थप मर्यादित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताए। यसका लागि सरकारसँगै निजी क्षेत्र र अन्य सरोकारवालाको सहकार्य आवश्यक हुने उनको भनाइ थियो।

आन्तरिक श्रम बजार सुधारका विषयमा बोल्दै उनले नेपालभित्र कार्यरत श्रमिकले भोगिरहेका न्यून पारिश्रमिक र श्रम शोषणजस्ता समस्या समाधान गर्न पनि मन्त्रालयले पहल थालेको बताए। श्रमिक र रोजगारदाताबीच पारदर्शी तथा प्रभावकारी समन्वयका लागि श्रम विभागले चाँडै अनलाइन प्लेटफर्म सञ्चालनमा ल्याउने तयारी गरिरहेको उनले जानकारी दिए।


प्रतिक्रिया दिनुहोस्