पूर्वाधार क्षेत्रमा निफ्राको कर्जा लगानी २६ प्रतिशतले विस्तार, ब्याज आम्दानी घट्दा नाफामा भने दबाब - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

पूर्वाधार क्षेत्रमा निफ्राको कर्जा लगानी २६ प्रतिशतले विस्तार, ब्याज आम्दानी घट्दा नाफामा भने दबाब



काठमाडौँ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा) ले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्ममा ९८ करोड ७३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १९.९८ प्रतिशतले घटेको हो।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले १ अर्ब २३ करोड ४० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। नाफामा आएको गिरावटसँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि घटेर ४ रुपैयाँ ५७ पैसामा सीमित भएको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ५ रुपैयाँ ७१ पैसा रहेको थियो। त्यस्तै, प्रतिशेयर नेटवर्थ ११८ रुपैयाँ ८८ पैसाबाट घटेर ११७ रुपैयाँ २२ पैसामा झरेको छ।

नाफासँगै यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि घटेको छ। असार मसान्तसम्ममा बैंकको यस्तो आम्दानी २३.८९ प्रतिशतले घटेर १ अर्ब ४४ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकले १ अर्ब ९० करोड ८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो।

यद्यपि, बैंकको खुद शुल्क तथा कमिसन आम्दानीमा उल्लेख्य सुधार देखिएको छ। यो आम्दानी १ सय ७५.१७ प्रतिशतले बढेर ५ करोड ८ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी २ करोड १९ लाख रुपैयाँ मात्र थियो।

खुद ब्याज आम्दानीमा आएको गिरावटका कारण बैंकको कुल सञ्चालन आम्दानी पनि प्रभावित भएको छ। समीक्षा अवधिमा कुल सञ्चालन आम्दानी २१.७१ प्रतिशतले घटेर १ अर्ब ५० करोड ४७ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो आम्दानी १ अर्ब ९२ करोड १९ लाख रुपैयाँ रहेको थियो।

त्यस्तै, बैंकको सञ्चालन नाफा पनि १९.८० प्रतिशतले घटेर १ अर्ब ४१ करोड ६८ लाख रुपैयाँमा सीमित भएको छ। अघिल्लो वर्ष सञ्चालन नाफा १ अर्ब ७६ करोड ६६ लाख रुपैयाँ रहेको थियो। यस अवधिमा बैंकले २१ करोड २७ लाख रुपैयाँ बराबरको इम्पेयरमेन्ट चार्ज छुट्याएको छ।

बैंकको निक्षेप संकलनमा भने सामान्य वृद्धि भएको छ। असार मसान्तसम्म बैंकको निक्षेप १.९४ प्रतिशतले बढेर ७ अर्ब ८३ करोड ९१ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी, बैंकले पूर्वाधार क्षेत्रमा प्रवाह गर्ने कर्जा तथा सापटी उल्लेख्य रूपमा विस्तार गरेको छ। समीक्षा अवधिमा कर्जा तथा सापटी २५.९६ प्रतिशतले बढेर ३१ अर्ब ४२ करोड ४२ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष यस्तो कर्जा २४ अर्ब ९४ करोड ८० लाख रुपैयाँ रहेको थियो।

बैंकको चुक्ता पुँजी २१ अर्ब ६० करोड रुपैयाँमै स्थिर रहेको छ। तर, रिजर्भ भने लाभांश वितरणलगायत कारण ९१.०७ प्रतिशतले घटेर ३७ करोड १८ लाख रुपैयाँमा झरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म यस्तो रकम ४ अर्ब १६ करोड ५० लाख रुपैयाँ रहेको थियो।

यस्तै बैंकको कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ६५.२५ प्रतिशतबाट बढेर ७९.९२ प्रतिशत पुगेको छ भने आधारदर ६.९७ प्रतिशतबाट घटेर ६.६७ प्रतिशतमा झरेको छ। समिक्षा अवधिमा बैंकको निष्क्रिय कर्जा (एनपीएल) शून्य प्रतिशत कायम रहेको छ।


प्रतिक्रिया दिनुहोस्