मध्यपूर्व तनाव बढेसँगै फेरी बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ९६ डलर नाघ्यो - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

मध्यपूर्व तनाव बढेसँगै फेरी बढ्यो कच्चा तेलको मूल्य, प्रतिब्यारेल ९६ डलर नाघ्यो



काठमाडौँ। मध्यपूर्वमा चुलिँदै गएको तनावले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। बिहीबार ब्रेन्ट क्रुडको मूल्य २ प्रतिशतभन्दा बढीले उकालो लाग्दै पछिल्ला छ सातायता कै उच्च बिन्दुमा पुगेको हो। आज ब्रेन्ट क्रुडको मूल्य २.३९ प्रतिशत अर्थात २.२५ डलरले बढेर प्रतिब्यारेल ९६.३२ डलर पुगेको हो।

यस्तै, डब्लूटीआई क्रुडको मूल्य पनि १.९० प्रतिशतले बढेर प्रतिब्यारेल ८८.४८ डलर पुगेको छ। अघिल्लो कारोबार दिन पनि ब्रेन्टको मूल्य ३ डलरभन्दा बढीले बढेर ९४.०७ डलरमा बन्द भएको थियो।

अन्तर्राष्ट्रिय तेल बजारमा मूल्य बढ्नुको प्रमुख कारण अमेरिका–इरानबीच बढ्दो सैन्य टकराव र लाल सागर क्षेत्रमा जहाजहरूको सुरक्षाप्रति बढेको चिन्ता मानिएको छ।

अमेरिकी सेनाले इरानविरुद्ध आफ्नो सैन्य कारबाही निरन्तर जारी रहेको जनाएको छ। उता, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले स्ट्रेट अफ होर्मुजमा अमेरिकी जहाजलाई लक्षित गरी कुनै आक्रमण भए त्यसको कडा प्रतिकार गरिने चेतावनी दिइरहेका छन्।

यसैबीच इरानको इस्लामिक रिभोलुसनरी गार्ड्सले स्ट्रेट अफ होर्मुज क्षेत्रमा एउटा तेल ट्यांकरमा विस्फोटपछि आगलागी भएको जनाएको छ। साथै, उक्त सामुद्रिक मार्ग आफ्नो नियन्त्रणमा रहेको उल्लेख गर्दै आवश्यक सुरक्षा समन्वयबिना कुनै पनि तेल ट्यांकरलाई प्रवेश वा बाहिरिन अनुमति नदिइने चेतावनीसमेत दिइएको छ।


प्रतिक्रिया दिनुहोस्