विद्युत् व्यापारमा नेपालको ऐतिहासिक छलाङ्ग, एकै वर्षमा १८.७६ अर्ब खुद बचत
काठमाडौं । नेपालले अन्तरदेशीय विद्युत् व्यापारमा उल्लेखनीय प्रगति हासिल गर्दै ऊर्जा क्षेत्रमा नयाँ कीर्तिमान बनाएको छ।
नेपाल विद्युत् प्राधिकरणले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को तथ्यांकअनुसार भारत र बंगलादेशलाई विद्युत् निर्यात गरी नेपालले १८ अर्ब ७६ करोड ४८ लाख रुपैयाँ खुद व्यापार बचत (नेट ट्रेड सरप्लस) हासिल गर्न सफल भएको हो। यो उपलब्धि अघिल्लो आर्थिक वर्ष २०८१/८२ मा भएको चार अर्ब ५३ करोड ५७ लाख रुपैयाँ खुद व्यापार बचतको तुलनामा ३१३ प्रतिशत बढी रहेको प्राधिकरणले जनाएको छ।
आर्थिक वर्ष २०८२/८३ मा नेपालले भारत र बंगलादेशमा तीन अर्ब ८७ करोड ७४ लाख ९२ हजार युनिट विद्युत् निर्यात गरेको छ। उक्त निर्यातबाट २९ अर्ब ३२ करोड ४७ लाख रुपैयाँ आम्दानी भएको छ। अघिल्लो आर्थिक वर्षको १७ अर्ब ४५ करोड ८७ लाख रुपैयाँ आम्दानीको तुलनामा यो ६७.९६ प्रतिशत बढी हो।
प्राधिकरणका अनुसार भारतीय ऊर्जा विनिमय बजार र बंगलादेशसँगको त्रिपक्षीय विद्युत् व्यापारमार्फत औसत प्रति युनिट ७ रुपैयाँ ५६ पैसाका दरले विद्युत् बिक्री गरिएको थियो।
निर्यात बढेसँगै विद्युत् आयातमा भने उल्लेखनीय गिरावट आएको छ। आर्थिक वर्ष २०८२/८३ मा नेपालले एक अर्ब १४ करोड ९८ लाख युनिट विद्युत् आयात गरेको छ, जुन अघिल्लो वर्षको तुलनामा ३१.५७ प्रतिशत कम हो।
आयात घटेपछि त्यसमा हुने खर्च पनि घटेको छ। आर्थिक वर्ष २०८२/८३ मा विद्युत् आयातका लागि १० अर्ब ५५ करोड ९९ लाख रुपैयाँ खर्च भएको छ। यो अघिल्लो वर्षको १२ अर्ब ९२ करोड ३० लाख रुपैयाँको तुलनामा १८.२९ प्रतिशत कम हो।
विद्युत् निर्यातबाट प्राप्त आम्दानीमा उल्लेखनीय वृद्धि र आयात खर्चमा आएको कमीका कारण नेपालको विद्युत् व्यापारले उल्लेखनीय प्रतिफल दिन थालेको देखिएको छ। यसले ऊर्जा क्षेत्रलाई मुलुकका लागि वैदेशिक मुद्रा आर्जन गर्ने महत्वपूर्ण माध्यमका रूपमा स्थापित गर्न थप टेवा पुग्ने विश्वास गरिएको छ।
ऊर्जा क्षेत्रका जानकारहरूका अनुसार स्वदेशी जलविद्युत् उत्पादनमा भएको विस्तार, सीमापार प्रसारण संरचनाको विकास, भारतीय विद्युत् बजारमा सहज पहुँच, बंगलादेशसँग त्रिपक्षीय विद्युत् व्यापारको सुरुवात तथा विद्युत् माग–आपूर्तिको प्रभावकारी व्यवस्थापनले यस्तो उपलब्धि हासिल गर्न महत्वपूर्ण भूमिका खेलेको हो।
प्राधिकरणले आगामी वर्षहरूमा थप जलविद्युत् आयोजना सञ्चालनमा आउने, अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार हुने तथा विद्युत् निर्यातका अवसर थप फराकिला बन्दै जाने अपेक्षा गरेको छ।













