सीजीबाट जगदम्बाले कसरी खोसेको थियो टीभीएसको डिलरशिप ?
दुई ठूला कर्पोरेट घरानाको आक्रामक रणनीतिले कसरी फेर्यो बजारको गणित ? चौधरी ग्रुपको हातमा रहेको टीभीएसको डिलरशिप खोसेर जगदम्बा मोटर्सले खडा गरेको नयाँ साम्राज्यको भित्री कथा।
काठमाडौँ । नेपालको स्कूटर बजारमा दशकौँदेखि राज गरेको ब्राण्ड हो– होण्डा । तर पछिल्ला वर्षमा उसको विक्री क्रमश: खुम्चिँदै गएको छ । उपभोक्ताको रोजाई र विक्रीको ग्राफ आक्रामक रुपमा बढेको अर्को ब्राण्ड छ– टीभीएस ।
हुन त यामाहा र अरु ब्राण्डले पनि आफ्नो उपस्थिति बलियो पार्ने कोसिस गरिरहेका छन् । तर टीभीएस यो बजारको ‘नयाँ उत्तराधिकारी’ बनेर उदाउँदै छ ।
उसका मोटरसाइकलहरु पनि बजार प्रतिस्पर्धामा सशक्त रुपमा देखिन थालेका छन् । तर बजारमा यो ब्राण्डको यति ठूलो वर्चश्व सिर्जना हुनुका पछाडी एउटा रोमाञ्चक इतिहास छ । यो कथाको सुरुआत हुन्छ, सन् २०१० बाट ।
+ + + + + + +
अजभन्दा १६–१७ वर्ष अघि महिन्द्रा टु ह्वीलरको डिलरशिप दिनेश श्रेष्ठसँग थियो । उनी नेपाल उद्योग वाणिज्य महासंघका पूर्व उपाध्यक्ष हुन् । तर उनले त्यति राम्रोसँग विक्री गर्न सकिरहेका थिएनन् । त्यो डिलरशिप धेरैको रोजाईमा पनि थिएन । किनकी, उत्पादक भारत र अन्यत्र पनि यसको विक्री खासै उत्साहजनक थिएन ।
यस्तो बेला शाहिल अग्रवालले एउटा आँट गरे, महिन्द्राको व्यापार हासिल गर्ने । उनले अप्रोच गरे र पाइ पनि हाले । काठमाडौँको टेकुमा अहिले टीभीएसको शोरुम भएको ठाउँ त्यतिबेलाको महिन्द्राको शोरुम राखिएको थियो । ‘मैले त्यो शोरुम एक हप्तामा तयार पारेको थिएँ त्यतिबेला’ पुरानो कुरा सम्झँदै जगदम्बा मोटर्समा ‘सिनियर भाइस प्रेसिडेन्ट’ रहिसकेका राजु भेटुवाल सम्झन्छन्, ‘त्यसरी हामीले महिन्द्राको शोरुम सुरु गरेका थियौँ ।’
टेकुमा महिन्द्रको त्यो शोरुमको ठ्याक्कै पारिपट्टी टीभीएसको शोरुम थियो, जहाँ अहिले बुलेट (रोयल इन्फिल्ड)को शोरुम छ ।
‘त्यतिबेला हामीले महिन्द्राको स्कुटर व्यापक रुपमा बेच्यौँ । हामीले त्यसरी स्कुटर बेचेको देखेपछि टीभीएसमा मान्छेहरु भारतबाट आउने र हाम्रो शोरुमा छिर्ने गर्न थाले’ भेटुवाल सम्झन्छन् । राजुका अनुसार उनीहरुले ‘संसारमा कहीँ नबिक्ने चिज तिमीहरुले नेपालमा गजबसँग बेच्यौ’ भन्थे रे । ‘त्यो सम्बन्धबाट उनीहरु हामीसँग अत्यन्तै प्रभावित थिए’, उनले सम्झिए ।
त्यस ताका नेपालमा टीभीएसका दुई पांग्रे सवारी साधन चौधरी ग्रुप (सीजी)ले बेच्थ्यो । राजुको सम्झनामा सीजीले त्यो डिलरशिप दुगड समूहबाट खोसेको थियो । चौधरी परिवारका सदस्यले आफैँ मार्केटिङ गर्दैन थिए । कर्मचारीबाट ज्यादा काम बन्दैन थियो । त्यसैले सीजीले खासै राम्रो व्यापार बढाउन सकेको थिएन ।
उनीहरुको अर्को पनि समस्या थियो । नेपालमा टीभीएसको दुईटा डिलर थियो । टीभीएसले पूर्वी नेपालमा महावीर भन्ने बेग्लै कम्पनीलाई डिलरशिप दिएको थियो । काठमाडौँ र पश्चिम नेपालका लागि भने डिलरशिप सीजीसँग थियो । ‘यसरी दुई वटा डिलर भएपछि अब विज्ञापन कसले गर्ने ? त्यसमा गाह्रो भयो’, भेटुवाल भन्छन्, ‘कान्तिपुरमा फूल पेज विज्ञापन हालेको त दुबै डिलरलाई फाइदा हुने भयो । यस्तो कारणले उनीहरुलाई अप्ठेरो परेको थियो ।’
+ + + + + + +
त्यसबेला महिन्द्राका चलेको प्रडक्ट थियो– ‘रोडियो’ । त्यो स्कुटर नेपालमा बेच्नका लागि आफूले अहिलेसम्मकै महँगो विज्ञापन बनाएको दाबी भेटुवालको छ । ‘मैले त्यतिबेला ४७ लाख रुपैयाँ खर्च गरेर विज्ञापन बनाएको थिएँ । त्यो सन् २०११ को विज्ञापन हो’, भेटुवाल भन्छन्, आज जति पनि विज्ञापन यस क्षेत्रमा देखिन्छ, सबै त्यसको कपिकम लाग्छन् । अरु त अरु, अहिले विद्युतीय गाडी (ईभी)हरु जोमसोम लगेको, कता लगेको अवस्था छन्, ती सबै त्यतिबेलाको विज्ञापनको कपि हुन् । त्यसमै हुबहु परिमार्जित रुपमात्रै देख्न सकिन्छ ।’
त्यसरी विज्ञापन गरेपछि महिन्द्राले व्यापक मात्रामा स्कूटर बेचेको उनको स्मरण छ । वर्ष भरीमा केवल ७–८ सय बेच्ने गरेको अवस्थामा आफूहरुले एकै वर्षमा ६७ सय स्कुटर बेचेको उनले सुनाए । उनको अर्को पनि दाबी छ– स्कुटरलाई ‘यूनिसेक्स’ बनाएको पनि मैले नै हो । त्यस अघिसम्म नेपालमा स्कूटर भनेको केटीहरुले चढ्ने सवारी साधन हो भन्ने बुझाई रहेको अवस्थामा आफूहरुले आम धारणालाई नै ‘रिपोजिशनिङ’ गरेकोमा उनी गर्व मान्छन् ।
त्यसपछि ‘सेञ्चुरो’ भन्ने एउटा मोटरसाइकल आयो । सबैतिर भर्टिकल (ठाडो) इञ्जिन भएका मोटरसाइकल आइरहेको बेला महिन्द्राले चाहीँ होरिजेन्टल (तेर्सो) इञ्जिन भएको मोटरसाइकल ल्यायो । ११० सीसीको । त्यसपछि ‘प्यान्टरो’ भन्ने आयो । महिन्द्राका ब्राण्डहरुमा अन्तिममा ‘ओ’ अथवा जिरो (शून्य) अक्षर राखिएको हुन्छ । ‘सायद त्यो ज्योतिषीय वा वास्तुसँग सम्बन्धित हुनसक्छ’, भेटुवालले रोडियो, प्यान्तरो, एक्सयूभी ५००, स्कर्पियो, बोलेरो नाम हुनुको कारणबारे अड्कल काटे ।
पछि फेरि मोजो भन्ने मोटरसाइकल आउन लाग्यो । ३०० सीसीको थियो त्यो । साहिलले राजुलाई त्यो मोटरसाइकलको लञ्चिङमा भारतको पुणे लगे । उनले अर्को गर्वको बात सुनाए– मान्छेको ‘चन्द्रमा’ सही ठाउँमा हुँदा त्यस्तो हुने रहेछ । मैले यसो हेरेर ‘यो बिक्छ’ भनेपछि ठ्याक्कै बिक्थ्यो । सन् २०१० तिरै मेरो फेयरवेलका बेला शेखर गोल्छाले बोलेको १३ मिनेटको स्पिच अहिले पनि मसँग सुरक्षित छ । त्यसमा उहाँले भन्नुभएको छ– ‘राजु जीले यसो हेरेर यो बिक्छ भनेपछि साँच्चिकै बिक्थ्यो ।’
पुणेमा मोटरसाइकल हेरेपछि शाहिलले उनलाई सोधे– ‘के लाग्यो राजु जी तपाइँलाई, यो बिक्छ ?’ उनले आफूले भनेका शब्द पनि सुनाए, ‘बिक्छ जस्तो लागेन सर मलाई । दाम पनि महँगो भयो । यस्तो डिजाइन नेपालका मान्छेहरुले के गर्लान् ?’ अनि शाहिलले मन मोडे ।
‘अरु कुनै ब्राण्ड लिन सकिँदैन ?’ शाहिलको यो प्रश्न सुनेपछि राजु एकछिन सोचमग्न भए । त्यसबेलाको लोकप्रिय ब्राण्ड हिरो ज्योति ग्रुपसँग थियो । टीभीएस चौधरीसँग । ‘कसले सोच्छ र चौधरीको ब्राण्ड पनि खोस्न सकिन्छ भनेर ?’, उनले सुनाए । तर शाहिलले ‘टीभीएस ट्राई गरौँ त एक चोटी ?’ भनेर सोधे रे । ‘हाम्रो शोरुममा आइरहने त्यो भारतीयको नम्बर मसँग थियो । मैले ट्याक्सीबाटै त्यसलाई फोन गरेँ’, भेटुवालले थपे ।
+ + + + + + +
सायद त्यो दिन नै राम्रो थियो । ‘मेरो होइन, शंकर ग्रुपको दिन राम्रो थियो । म त जागिर खाने मान्छे, आज पनि जागिर नै खाइरहेको छु । तर उनीहरुले केही नभए पनि वर्षमा ६०–७० करोड रुपैयाँ टीभीएसबाट कमाइरहेका छन्’ भेटुवाल भन्छन् ।
राजुले त्यो भारतीयलाई आफ्नो परिचय दिए । अनि आफ्नो एमडी (कम्पनीका मालिक) ले कुरा गर्न चाहेको पनि सुनाए । फोन शाहिलको हातमा ‘पास’ भयो । उनले कुरा गरे । छोटो कुराकानीमै टीभीएसले शाहिललाई पत्याइहाल्यो । अनि टेलिफोन गरेको मान्छेले अन्तिममा भने– ‘प्रपोजल बनाएर पठाउनू ।’
त्यसपछि नेपाल आएर शाहिलहरुले प्रपोजल बनाउन लगाए र पठाए । ‘पछि मेरो केही कुरा मिलेन र मैले जागिर छोडेँ । तर उनीहरुले चौधरीबाट टीभीएसको डिलरशिप खोसे’, उनले सुनाए । राजुले २०७१ को असारमा शाहिलको कम्पनी छाडेका थिए । त्यो बेला कम्पनीको नाम पनि ‘एसजी ग्लोबल प्रालि’ थियो, २०६७ पुसमा खुलेको कम्पनी ।
टीभीएसको डिलरशिप पाउने भएपछि शंकर ग्रुपले त्यो कम्पनीको नाम फेरेर २०७२ असारमा जगदम्बा मोटर्स बनायो र ‘रिब्राण्डिङ’ गर्यो । अनि त्यसै सालको असोजदेखि उसले टीभीएस बेच्न थाल्यो । ६ वर्ष अघि मलेसियन कार उत्पादक प्रोटोनको पनि डिलरशिप हात पारेपछि ‘टीभीएस मोटर कम्पनी’ भनेर छुट्टै कम्पनी खडा गरी यो ब्राण्ड विक्री भइरहेको छ ।
यसरी पछिल्लो एक दशकमा टीभीएसले नेपालमा आफ्नो व्यापार उत्पातै बढाएको भेटुवाल बताउँछन् । ‘पछिल्लो १० वर्षमा यसले नेपालको ब्यापारमा राज गरेको छ । पहिले के थियो र अहिले के छ भनेर हेरियो भने देखिन्छ’, उनी भन्छन्, ‘त्यसैले राम्रोसँग कुनै पनि काम गर्दा त्यसको रिजल्ट आउँदो रहेछ भन्ने देखियो ।’













