चल्ने भयो भारू. २०० र ५०० का नोट
नेपाल राष्ट्र बैंकद्वारा भारू २०० र ५०० दरका नोट ल्याउन, लैजान र सटही गर्न खुला; प्रतिव्यक्ति बढीमा २५ हजारसम्म बोक्न पाइने सुविधाले पर्यटक तथा सर्वसाधारणलाई ठूलो राहत हुने।
काठमाडौँ । नेपाल राष्ट्र बैंकले अबदेखि भारतीय रुपये (भारू) २०० र ५०० दरका नोटहरु नेपाली वा भारतीय नागरिकले नेपाल ल्याउन, भारत लैजान र सटही गर्न छुट दिएको छ ।
यसअघि भारू. १०० सम्मका नोटमात्रै नेपालमा चलाउन पाइने व्यवस्था केन्द्रीय बैंकले गरेको थियो । नयाँ व्यवस्थासँगै अब भारतमा काम गर्न गएका नेपाली, नेपाल आउने भारतीय पर्यटक, भारत जाने नेपाली पर्यटक र दुबै देशमा आउजाउ गर्ने तीर्थालुहरुलाई सहयोग हुने भएको छ ।
सन् २०१६ नोभेम्बर ९ भन्दा अघि चलनचल्तिमा रहेर भारत सरकारले नै ‘अमौद्रिकीकरण’ गरेको पुराना ५०० र १००० दरमा भारु नोटहरु भने चल्ने छैनन् । दश वर्षअघि मात्रै जारी भएको भारू. २००० दरको नयाँ नोट पनि भारत सरकारले चलनचल्तिबाट हटाइसकेका कारण अब नेपालमा त्यो नोट बोकेर ल्याउन र साट्न पाइने छैन ।
राष्ट्र बैंकले यसअघि भारू. २०० र ५०० का नयाँ नोटहरु पनि नेपालमा चलनचल्ति गर्न नदिने भएको थियो । तर आज एक सूचना जारी गरेर ती दरका नोटहरु नेपालमा बोकेर हिँड्न र सटही गर्न सुविधा दिएको छ ।
यद्यपि, यस्ता नोटहरु भारू. २५ हजार रुपैयाँभन्दा बढी बोकेर हिँड्न वा सटही गर्न भने अझै पनि पाइने छैन । तर साना दरका नोटहरुको हकमा भने यो सीमा अलि ठूलो छ ।













