८ श्रावण २०८३, शुक्रबार

निजी क्षेत्रसँग प्रधानमन्त्री बालेनको संवाद तीव्र: आज प्रमुख निर्यातमुखी उद्योगीहरूसँग विशेष छलफल गर्दै



काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले निजी क्षेत्रका प्रतिनिधिहरूसँगको भेटघाटलाई तीव्र बनाएका छन्।

देशको अर्थतन्त्रलाई चलायमान बनाउने, लगानी तथा उत्पादन बढाउने र निर्यात प्रवर्द्धन गर्ने उद्देश्यका साथ प्रधानमन्त्री शाहले सरोकारवाला निकाय तथा उद्योगी-व्यवसायीहरूसँगको संवादलाई निरन्तरता दिएका हुन्।

यसै क्रममा प्रधानमन्त्री शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिहरूसँग आज विशेष छलफल गर्दैछन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे आयोजना हुने उक्त छलफलमा मुलुकको निर्यात प्रवर्द्धनका चुनौती, आवश्यक नीतिगत सुधार तथा समस्या समाधानका उपायबारे उद्योगी व्यवसायीहरूसँग प्रत्यक्ष सुझाव लिइने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

प्रधानमन्त्रीको सचिवालयका अनुसार आजको छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ र नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने सहभागी हुँदैछन्। त्यसैगरी, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई पनि छलफलका लागि बोलाइएको छ।

निजी क्षेत्रको मनोबल उच्च बनाउन प्रयासरत प्रधानमन्त्री बालेनले हिजो (बिहीबार) मात्रै नेपाल अर्ग्यानिक संघका पदाधिकारी, व्यवसायी तथा चिया उद्योगीहरूसँग छुट्टाछुट्टै भेटघाट गरी उनीहरूका समस्या र अपेक्षाबारे विस्तृत छलफल गरेका थिए।

यसअघि पनि प्रधानमन्त्री शाहले निजी क्षेत्रका विभिन्न छाता संगठन र व्यावसायिक संस्थाहरूसँग चरणबद्ध छलफल गरिसकेका छन्। उनले नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, नेपाल निर्माण व्यवसायी महासंघ, हस्तकला व्यवसायी तथा हस्तकला महासंघ, तयारी पोशाक उद्योग संघ, स्वदेशी जुत्ताचप्पल उद्योगका पदाधिकारी (फुटवेयर एसोसिएसन) र सेयर लगानीकर्ताका प्रतिनिधिहरूसँग भेटघाट गरी सुझाव संकलन गरिसकेका छन्।


प्रतिक्रिया दिनुहोस्