८ श्रावण २०८३, शुक्रबार

चार दशकदेखि बन्धक इरानको १ खर्ब डलर सम्पतिमा अमेरिकाकाे नजर, ट्रम्पको घोषणाले बढायो तनाव



काठमाडौँ । अमेरिका र अन्य विदेशी सरकारहरूले विगत चार दशकदेखि रोक्का (फ्रीज) गरेर राखेको इरानको खर्बाैँ डलर सम्पत्ति यतिबेला पुनः विश्व राजनीतिको चर्चा र विवादको केन्द्रमा आएको छ।

इरानको रोक्का रहेको यो सम्पत्तिको इतिहास सन् १९७९ देखि सुरु भएको हो। तेहरानस्थित अमेरिकी दूतावासमा अमेरिकी नागरिकहरूलाई बन्धक बनाएपछि अमेरिकाले पहिलो पटक इरानी कोष रोक्का गरेको थियो। पछि सन् १९८१ को ‘अल्गियर्स सम्झौता’ अन्तर्गत इरानले बाँकी ५२ जना अमेरिकी बन्धकहरूलाई रिहा गरेपछि केही सम्पत्ति फुकुवा गरिएको भए पनि ठुलो परिमाणमा इरानी रकम अझै पनि विदेशी बैंकहरूमा बन्धक अवस्थामा छ।

हाल विश्वभरि इरानको कति रकम रोक्का छ भन्ने यकिन तथ्याङ्क नभए पनि त्यो करिब १ खर्ब अमेरिकी डलरको हाराहारीमा रहेको अनुमान गरिएको छ।

गत महिना मात्रै अमेरिका र इरानबिच भएको एक समझदारी पत्र अन्तर्गत यसमध्ये केही रकम फुकुवा गर्ने तयारी गरिएको थियो। तर, अमेरिकाले इरानमाथि पुनः आक्रमण सुरु गरेपछि उक्त समझदारी भंग भएको छ।

यसैबिच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको पछिल्लो घोषणाले यो विवादलाई थप उग्र बनाएको छ। ट्रम्पले अमेरिकाको नियन्त्रण र कब्जामा रहेको इरानी पैसालाई जहाज, कार्गो वा त्यससँग सम्बन्धित कुनै पनि क्षतिको क्षतिपूर्ति तिर्नका लागि प्रयोग गरिने बताएका छन्।

ट्रम्पको यो अभिव्यक्तिप्रति इरानले कडा आपत्ति जनाएको छ। इरानी अधिकारी अराघचीले यसको प्रतिवाद गर्दै जफत गरिएको रकमलाई भविष्यमा हुन सक्ने असम्बन्धित दाबीहरूको भुक्तानीका लागि प्रयोग गर्नु एक अत्यन्तै खतरनाक र उत्तेजक नजिर हुने चेतावनी दिएका छन्। अमेरिकाको यो कदमले दुई देशबिचको सम्बन्धलाई थप संकटतर्फ धकेल्ने अनुमान गरिएको छ।


प्रतिक्रिया दिनुहोस्