८ श्रावण २०८३, शुक्रबार

वाणिज्य विभागद्धारा एकै बर्षमा २ करोड बढी जरिवाना असुल



काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आर्थिक वर्ष २०८२/८३ मा सञ्चालन गरेको बजार अनुगमनका क्रममा उपभोक्ता संरक्षणसम्बन्धी कानुन उल्लंघन गर्ने व्यवसायीबाट २ करोड ६१ लाख २३ हजार ३ सय रुपैयाँ जरिबाना असुल गरेको छ।

शुक्रबार सार्वजनिक गरिएको वार्षिक प्रगति विवरणअनुसार विभागले उपभोक्ता संरक्षण ऐन, २०७५ र उपभोक्ता संरक्षण नियमावली, २०७६ बमोजिम देशभर गरिएको अनुगमनका क्रममा ५ सय ३७ व्यवसायिक फर्मलाई कारबाही गर्दै उक्त रकम जरिबाना उठाएको हो।

विभागका अनुसार गत आर्थिक वर्षभर ९ सय ६५ वटा अनुगमन टोली परिचालन गरी ४ हजार ४ सय ८१ व्यवसायिक फर्मको निरीक्षण गरिएको थियो। अनुगमन गरिएका फर्ममध्ये ३ हजार ४ सय ६२ लाई आवश्यक सुधार गर्न निर्देशनसहित सचेत गराइएको छ भने ३ सय ६२ फर्मसँग थप अध्ययनका लागि आवश्यक कागजात माग गरिएको विभागले जनाएको छ।

तथ्यांकअनुसार निरीक्षण गरिएका फर्ममध्ये केवल १ सय १५ फर्म मात्र कानुनबमोजिम सञ्चालन भएको अवस्थामा भेटिएका थिए। अनुगमनका क्रममा मापदण्डविपरीतका वस्तु फेला परेपछि ४ वटा फर्मका अयोग्य सामग्री नष्ट गरिएको र एउटा फर्मको सामान फिर्ता पठाइएको विभागले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्