८ श्रावण २०८३, शुक्रबार

दक्षिण-पूर्व एसियाका ‘स्क्याम सेन्टर’बाट ८६० नेपालीको उद्धार, अझै ४९ जना कम्बोडियाको जेलमा



दक्षिण-पूर्व एसियाली मुलुकका अनलाइन ठगी सेन्टरहरूबाट ८६० भन्दा बढी नेपालीको उद्धार गरिसकिएको भए पनि प्रलोभनमा परेर त्यहाँ पुग्ने र उद्धारपछि पनि फर्कन नमान्ने क्रम नरोकिएको सरकारले जनाएको छ

काठमाडौँ । दक्षिण-पूर्व एसियाली मुलुकहरूमा सञ्चालित अवैध ‘अनलाइन स्क्याम सेन्टर’हरूबाट हालसम्म ८६० जना नेपालीको उद्धार गरिएको छ।

परराष्ट्र मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार कम्बोडिया, म्यान्मार, लाओस र थाइल्याण्डका सीमा क्षेत्रमा सञ्चालित यस्ता सेन्टरहरूमा ठगीमा परेका नागरिकहरूको उद्धारका लागि निरन्तर पहल भइरहेको छ।

उद्धार गरिएकामध्ये सबैभन्दा ठूलो सङ्ख्या कम्बोडियाबाट रहेको छ, जहाँबाट हालसम्म ७३३ जनालाई घर फर्काइएको छ।

त्यसैगरी म्यान्मारबाट ११३ जना, लाओसबाट ८ जना र थाइल्याण्डबाट ६ जना नेपालीको उद्धार गरिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार ती क्षेत्रहरूमा अझै पनि जोखिमपूर्ण र प्रतिबन्धित कामका लागि नेपालीहरू जाने क्रम पूर्ण रूपमा रोकिएको छैन।

यसैबिच, कम्बोडियाका विभिन्न जेलमा हाल ४९ जना नेपाली थुनामा रहेको तथ्य पनि सार्वजनिक भएको छ। उनीहरूलाई आवश्यक कानुनी सहायता उपलब्ध गराउन बैंककस्थित नेपाली राजदूतावासमार्फत आवश्यक समन्वय र पहल अगाडि बढाइसकिएको मन्त्रालयले जनाएको छ।

एजेन्टविरुद्ध उजुरीको अपिल

उद्धार प्रक्रियाका लागि सरकारले प्रयास गरिरहे पनि कतिपय नेपालीहरू प्रक्रिया पूरा भइसक्दा समेत स्वदेश फर्कन अनिच्छुक देखिएका छन्।

नेपाल फर्काउन सहजीकरण गरिएका र राजदूतावासको पहलमा जरिवाना छुट गराइएका नागरिकहरूलाई पनि अविलम्ब स्वदेश फर्कन सरकारले विशेष आग्रह गरेको छ। मन्त्रालयले त्यसका लागि उनीहरूका परिवार र आफन्तहरूलाई फोन तथा सामाजिक सञ्जालमार्फत अविलम्ब सम्पर्क गरी फर्काउने वातावरण बनाउन अपिल गरेको छ।

ठगीको सञ्जाललाई जरैदेखि तोड्नका लागि पीडितका परिवारले सुरुमै प्रहरीमा उजुरी दिनुपर्नेमा सरकारले जोड दिएको छ। उद्धारका लागि कन्सुलर सेवा विभाग वा विदेशस्थित नेपाली नियोगहरूमा निवेदन दिनुअघि नै नेपालीहरूलाई गलत प्रलोभनमा पारेर पठाउने गैरकानुनी कार्यमा संलग्न व्यक्ति र एजेन्टहरूबारे यथार्थ विवरणसहित नेपाल प्रहरीमा निवेदन दिन मन्त्रालयले आफन्तहरूलाई अनुरोध गरेको छ।

बिचौलियाबाट जोगिन चेतावनी

कम्बोडियाका जेलमा रहेका नेपालीहरूलाई छुटाइदिने बहानामा केही बिचौलियाहरूले झूटा आश्वासन दिँदै रकम असुलिरहेको सूचना प्राप्त भएको भन्दै मन्त्रालयले गम्भीर चिन्ता व्यक्त गरेको छ।

त्यस्ता ठगी धन्दा चलाउने व्यक्तिहरूबाट सतर्क रहन सचेत गराउँदै कानुनी प्रक्रिया वा वकिलको शुल्क सम्बन्धी कुनै पनि जानकारी, सूचना वा सहयोगका लागि कन्सुलर सेवा विभाग जस्ता आधिकारिक निकायमा मात्र सम्पर्क गर्न आग्रह गरिएको छ।


प्रतिक्रिया दिनुहोस्