अमेरिका–इरान शान्ति सम्झौताको आशामा तेलको मूल्यमा गिरावट, प्रतिब्यारेल कति ?
काठमाडौं । अमेरिका र इरानबीच लामो समयदेखि रोकिएको कूटनीतिक शान्ति वार्ता पुन: सुरु गराउने प्रयास भइरहेको समाचार सार्वजनिक भएसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उल्लेख्य गिरावट आएको छ। वार्ता अघि बढ्ने सम्भावनाले आपूर्ति अवरोधको जोखिम केही कम हुने अपेक्षा बढेपछि तेलको मूल्य एकै दिन ३ प्रतिशतभन्दा बढीले घटेको हो।
चीनले अमेरिका र इरानबीच फेरी संवाद गराउन सक्रिय पहल गरिरहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्। यसले भविष्यमा तेल आपूर्ति सहज हुन सक्ने अपेक्षा बढाउँदा लगानीकर्ताले बजारमा खरिद रणनीति परिवर्तन गरेका हुन्।
पछिल्लो कारोबारमा ब्रेन्ट क्रुडको मूल्य ३.९१ अमेरिकी डलर अर्थात् ३.८८ प्रतिशतले घटेर प्रतिब्यारेल ९६.७८ अमेरिकी डलरमा झरेको छ। त्यसैगरी, डब्लूटीआई क्रुड पनि २.८८ अमेरिकी डलर अर्थात् ३.१२ प्रतिशतले घटेर प्रतिब्यारेल ८९.३१ अमेरिकी डलरमा कारोबार भएको छ।
तेलको मूल्यमा केही गिरावट आएपनि विश्व ऊर्जा बजार पूर्ण रूपमा सहज भइसकेको अवस्था भने छैन। स्ट्रेट अफ हर्मुज हुँदै हुने तेल ढुवानीमा देखिएको कमी, लालसागर क्षेत्रमा हुथी विद्रोही समूहको गतिविधि तथा अमेरिका–इरानबीचको राजनीतिक तनावले आपूर्ति व्यवस्थामाथि अझै दबाब कायम राखेको विश्लेषकहरूको भनाइ छ।
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान र इरान समर्थित हुथी समूहविरुद्ध कडा सैन्य कदम चाल्न सक्ने चेतावनी दिएका थिए। त्यसलगत्तै हुथी समूहले लालसागर क्षेत्रमा साउदी अरेबियासँग सम्बन्धित समुद्री गतिविधिमा अवरोध सिर्जना गर्ने घोषणा गरेपछि ऊर्जा बजार थप अस्थिर बनेको थियो।
यद्यपि, पछिल्ला जहाज ट्र्याकिङ तथ्यांकले स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द नभएको देखाएका छन्। सीमित संख्यामा भए पनि जहाजहरूको आवतजावत जारी रहेकाले तत्काल विश्व तेल आपूर्ति पूर्ण रूपमा अवरुद्ध हुने जोखिम कम भएको आकलन गरिएको छ।













