द ब्रिटिस मोडल कलेजका पाँच विद्यार्थी ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६ अन्तर्गत ब्रोंज अवार्डबाट सम्मानित
काठमाडौं । द ब्रिटिस मोडल कलेज (बीएमसी) का पाँच विद्यार्थीले विश्वकै प्रतिष्ठित युवा विकास कार्यक्रम ‘ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड २०२६’ अन्तर्गत ब्रोंज अवार्ड प्राप्त गरेका छन्।
अवार्ड प्राप्त गर्ने विद्यार्थीहरूमा आर्या गुरुङ, मरिशा देवी गुरुङ, नेइर अमात्य, सियाना र शशांक झा रहेका छन्। उनीहरूलाई ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड नेपालद्वारा आयोजित राष्ट्रिय अवार्ड समारोह २०२६ मा औपचारिक रूपमा सम्मान गरिएको हो।
२०८३ श्रावण ४ गते सोमबार काठमाडौंको गैरीधारास्थित एलिस रिसेप्सनमा आयोजना गरिएको समारोहमा देशभरका ब्रोंज, सिल्भर तथा गोल्ड अवार्ड विजेताहरूलाई उनीहरूको मेहनत, लगनशीलता, आत्मविकासप्रतिको प्रतिबद्धता तथा सामुदायिक सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो।
ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड युवाहरूको व्यक्तिगत विकासमा केन्द्रित विश्वव्यापी कार्यक्रम हो। यसले युवाहरूलाई नयाँ सीप सिक्न, शारीरिक रूपमा सक्रिय रहन, समुदाय सेवामा योगदान दिन तथा साहसिक गतिविधिमार्फत आफ्नो व्यक्तित्व विकास गर्न प्रेरित गर्छ।
ब्रोंज अवार्ड सहभागी विद्यार्थीहरूको निरन्तर मेहनत, अनुशासन र आत्मविकास यात्रामा हासिल भएको महत्वपूर्ण उपलब्धिका रूपमा लिइन्छ।
विद्यार्थीहरूको सफलताप्रति बधाई दिँदै बीईजी बोर्ड तथा बीएमसी कलेज व्यवस्थापनका तर्फबाट अरुणले विद्यार्थीहरूको मेहनत, समर्पण र प्रतिबद्धताले कलेजलाई गौरवान्वित बनाएको बताए। उनले विद्यार्थीहरूको उपलब्धि अन्य विद्यार्थीका लागि प्रेरणाको स्रोत बनेको उल्लेख गर्दै आगामी दिनमा थप सफलता हासिल गर्न शुभकामना व्यक्त गरे।
कलेजले विद्यार्थीहरूलाई अवार्ड प्राप्त गर्न आवश्यक मार्गदर्शन तथा निरन्तर सहयोग प्रदान गर्ने श्री राजन कुमार राईप्रति विशेष आभार व्यक्त गरेको छ।
द ब्रिटिस मोडल कलेजले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरूको समग्र व्यक्तित्व विकासलाई समेत प्राथमिकता दिँदै आएको जनाएको छ। कलेजले विद्यार्थीहरूलाई शैक्षिक उपलब्धिमा मात्र सीमित नराखी विभिन्न सहपाठ्यक्रम तथा नेतृत्व विकास कार्यक्रमहरूमा सक्रिय सहभागिता गराउँदै आत्मविश्वासी, सक्षम र समाजप्रति उत्तरदायी भावी नेतृत्व निर्माणमा योगदान पुर्याउँदै आएको छ।
ड्युक अफ एडिनबर्ग्स इन्टरनेशनल अवार्ड १४ देखि २४ वर्ष उमेर समूहका युवायुवतीका लागि सञ्चालन हुने आत्मविकास कार्यक्रम हो। यस कार्यक्रममार्फत युवाहरूलाई आत्मविश्वासी, सक्षम र जिम्मेवार नागरिक बन्न प्रेरित गरिन्छ।













