नरेश सिंह विष्टको सीईओ पद एक साताका लागि थमौति, सर्वोच्चले दियो अल्पकालिन आदेश
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नरेन्द्र सिंह विष्टलाई तत्काल पदबाट नहटाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
न्यायाधीश विनोद शर्माको एकल इजलासले साउन १८ सम्मका लागि अल्पकालिन अन्तरिम आदेश जारी गर्दै यस्तो भनेको हो ।
यसअघि साउन ६ गते उक्त लघुवित्तको सञ्चालक समितिले बिष्टको कार्यकाल थप ४ वर्षका लागि नविकरण गर्ने निर्णय गरेको थियो । तर सर्वोच्च अदालतले नै यसअघि राष्ट्र बैंकको कारबाही भोगेका व्यक्तिहरु सञ्चालक र व्यवस्थापक बन्न नसक्ने फैसला गरेको आधारमा राष्ट्र बैंकले उनको नविकरण खारेज गर्न निर्देशन दिएको थियो ।
‘अन्तरिम आदेशको सम्बन्धमा छलफलबाट टुंगो नलाग्दासम्म….. प्रमुख कार्यकारी अधिकृतको पुनर्नियुक्ति तथा सोसम्बन्धी करारनामा रद्द गरिएको सम्बन्धी पत्र हाल कार्यान्वयन नगर्नू, नगराउनू, यथास्थितिमा राख्नू’ भनेर अदालतले आदेश दिएको छ ।
साथै निवेदकको माग बमोजिम उत्प्रेषणको आदेशद्वारा राष्ट्र बैंकको निर्देशन रद्द नगर्नू पर्ने कुनै कारण भए त्यस्तो आधार र कारण सहित जवाफ लिएर आउन पनि आदेश दिइएको छ । यस्तो कारणदेखाउ आदेशका लागि अदालतले १५ दिनको समय (बाटाको म्याद बाहेक) दिएको छ ।













