११ श्रावण २०८३, सोमबार

सर्वोच्चले मातहतका दुबै अदालतलाई सोध्यो– दीपक भट्टलाई किन थुनामा राखेको ?



काठमाडौँ । बैंकिङ कसूर र सम्पत्ति शुद्धिकरणको अभियोगमा मातहतका अदालतहरुले व्यवसायी दीपक भट्टलाई थुनामा राख्न आदेश दिइरहेका बखत सर्वोच्च अदालतले उनीहरुलाई यसको कारण प्रस्ट्याउन आदेश दिएको छ ।

उच्च अदालत पाटन र विशेष अदालत काडमाडौँलाई सर्वोच्चले ‘यसमा के कसो भएको हो ?’ भनेर सोधेको छ । साथै भट्टलाई थुनामै राखेर पुर्पक्ष गर्नुपर्ने भनी विशेष अदालतले असार ३ मा र उच्च अदालतले असार ५ मा आदेश गर्दा लिएका ‘आधारसमेतको बेहोरा खुलाई सम्बन्धित मुद्दाको सक्कलै मिसिल पेसीका दिन देखाइ फिर्ता लैजाने गरी कैफियत प्रतिवेदन गर्नू’ भनेर सर्वोच्चले आदेश दिएको छ ।

दुबै अदालतबाट कैफियत प्रतिवेदन प्राप्त भएपछि महान्यायाधिवक्ताको कार्यालयलाई पेसीको सूचना दिन पनि अदालतले आदेशमै भनेको छ ।

यसअघि जिल्ला अदालत काठमाडौँले भट्टकमाथि लगाइएका आरोपहरु पुष्टि गर्ने पर्याप्त आधार नभएको भनेर उनी र अर्का व्यवसायी सुलभ अग्रवाललाई धरौटीमा रिहा गर्न आदेश दिएको थियो । तर अन्य दुई अदालतको आदेशले पुर्पक्षमा बस्नु परेका कारण भट्ट र अग्रवाल रिहा हुन सकेका छैनन् ।

उच्च अदालतमा बैंकिङ कसूर र विशेषमा सम्पत्ति शुद्धिकरणको मुद्दा खेपिरहेका व्यवसायी भट्टले आफूलाई नियम विपरित थुनामा राखेको भनेर सर्वोच्चको ढोका ढकढक्याएका थिए ।

सोही क्रममा वरिष्ठ अधिवक्ता महेशकुमार थापा र अधिवक्ता लोकहरि पौडेलको बहस सुनेपछि न्यायाधीश विनोद शर्माको एकल इजलासले यस्तो आदेश दिएको हो ।