१२ श्रावण २०८३, मंगलबार

सेबोनलाई अर्थमन्त्रीले भने- नियामकीय गुणस्तर बढाउँदै पूँजीबजार विकास गर्नु



काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पूँजीबजारलाई थप विश्वसनीय, पारदर्शी र प्रतिस्पर्धी बनाउन नेपाल धितोपत्र बोर्ड (सेबोन) ले नियामकीय गुणस्तर सुधारमा विशेष ध्यान दिनुपर्ने बताएका छन्।

बोर्डको स्थलगत निरीक्षणका क्रममा उनले नवनियुक्त नेतृत्वलाई दीर्घकालीन सोचका साथ काम गर्न आग्रह गर्दै उच्च नैतिक मापदण्ड कायम राखेर पूँजीबजारको विकासलाई अगाडि बढाउन निर्देशन दिए। नयाँ नेतृत्व आएपछि बोर्डले सुधारमुखी पहल थालेको र त्यसको सकारात्मक संकेत बजारमा देखिन थालेको आफूले महसुस गरेको उनले बताए।

अर्थमन्त्री वाग्लेले धितोपत्र बोर्डको जिम्मेवारी नेपाल राष्ट्र बैंकजत्तिकै महत्वपूर्ण रहेको उल्लेख गर्दै लगानीकर्ताको सम्पत्तिको सुरक्षा र बजारमा विश्वास कायम राख्नु बोर्डको प्रमुख दायित्व भएको बताए। उनले कुनै दबाब वा प्रभावमा नपरी स्वतन्त्र र प्रभावकारी नियमन गर्न बोर्डलाई आग्रह गरे।

नयाँ सरकार गठनसँगै पूँजीबजारप्रति लगानीकर्ताको अपेक्षा बढेको उल्लेख गर्दै उनले नयाँ कानुन तथा नियामकीय व्यवस्था निर्माण गर्दा सरोकारवाला सबै पक्षसँग पर्याप्त छलफल गरी साझा सहमतिका आधारमा कार्यान्वयन गर्नुपर्ने धारणा राखे। बजारका सबै हिस्सेदारलाई समेटेर अघि बढ्न र उनीहरूको जायज सुझावलाई सम्बोधन गर्न पनि उनले बोर्डलाई निर्देशन दिए।

नेपालको सेयर बजारलाई एसियाकै उत्कृष्ट र प्रतिस्पर्धी बजारमध्ये एक बनाउने लक्ष्य व्यवहारमा देख्न चाहेको उल्लेख गर्दै उनले सो लक्ष्य हासिल गर्न सरकारबाट आवश्यक सहयोग उपलब्ध गराउन मन्त्रालय तयार रहेको बताए।

कार्यक्रममा नेपाल धितोपत्र बोर्डका अध्यक्ष डा. गोपाल भट्टले पूँजीबजार सुधारका लागि विस्तृत ब्लूप्रिन्ट तयार गरी कार्यान्वयन सुरु गरिएको जानकारी दिए। उनका अनुसार चालु साउन महिनाभित्र प्राथमिक तथा दोस्रो बजारसँग सम्बन्धित विभिन्न नीतिगत व्यवस्था अघि बढाइनेछ।