युद्धपछि पर्यटन संकटमा दुबई: पर्यटकलाई आकर्षित गर्न ८०० डलरको प्रोत्साहन योजना सार्वजनिक
काठमाडाैं । केही महिनाअघिसम्म दुबई सन् २०२५ मा १ करोड ९५ लाख ९० हजार अन्तर्राष्ट्रिय पर्यटक भित्र्याउँदै पर्यटन क्षेत्रमा रेकर्ड ब्रेक गर्न सफल भएको थियो।
तर, मार्च महिनामा इरानको मिसाइल आक्रमणको निशानामा परेपछि मध्यपूर्वको यो सुरक्षित गन्तव्यमा पर्यटकको संख्यामा भारी गिरावट आएको छ। आक्रमणअघि ८० प्रतिशत रहेको होटल अकुपेन्सी दर घटेर अब १० प्रतिशतमा झर्ने अनुमान गरिएको छ।
यस्तो असहज परिस्थितिबाट बाहिर आउन दुबईका अधिकारीहरूले नयाँ कदम चालेका छन्। नयाँ कार्यक्रमअन्तर्गत युएईका नागरिक तथा बासिन्दाहरूले आफ्ना आफन्त वा साथीहरूलाई दुबई भ्रमणका लागि सिफारिस (मनोनयन) गरेबापत ३ हजार युएई दिराम (करिब ८१६ डलर) बराबरको पुरस्कार प्याकेज प्राप्त गर्नेछन्।
‘ए दुबई इन्भाइट’ नामक यो योजना यो महिनाको सुरुमा सार्वजनिक गरिएको हो। यसअन्तर्गत वैध इमिरेट्स आइडी भएका १८ वर्ष वा सोभन्दा बढी उमेरका व्यक्तिले अक्टोबर ३१ सम्ममा दुबई भ्रमणमा आउने अधिकतम तीनवटा पाहुनालाई सिफारिस गर्न सक्नेछन्।
यसमा होटल बसाइ र भोजनसम्बन्धी अफरहरू समावेश छन्। भिजिट दुबईका अनुसार मनोनयन गरिएका पाहुनाहरू युएई बाहिरका बासिन्दा हुनुपर्नेछ भने उनीहरू वैध पर्यटक भिसा लिई हवाइ, जल वा स्थलमार्गबाट आउनुपर्नेछ।
पर्यटक फर्काउने दुबईको यो प्रयास यसअघिका अन्य कदमहरूको निरन्तरता हो। यसअघि अधिकारीहरूले महँगा होटलहरूमा लाग्ने रात्रि होटल कर स्थगित गर्नुका साथै होटल तथा रेस्टुरेन्ट बिलमा लाग्ने ७ प्रतिशत नगर शुल्क समेत हटाएका थिए।
इरानले यसै वर्षको सुरुमा मध्यपूर्वभर ब्यालिस्टिक मिसाइल र ड्रोन आक्रमण गरेपछि दुबईले आफ्नो पर्यटन ब्रान्ड पुनःनिर्माण गर्न कडा मेहनत गरिरहेको छ। अधिकांश मिसाइलहरू आकाशमै रोसिए पनि आक्रमणका कारण फेयरमोन्ट द पाम रिसोर्ट र जुमेरा बुर्ज अल अरब होटल जस्ता प्रसिद्ध स्थलहरूमा क्षति पुगेको छ। जुमेरा बुर्ज अल अरब अहिले १८ महिने पुनःस्थापना कार्यक्रमका लागि बन्द गरिएको छ।
विश्वव्यापी यातायातको मुख्य केन्द्र मानिने दुबई अन्तर्राष्ट्रिय विमानस्थल मार्च महिनामा केही समयका लागि बन्द गर्न बाध्य पारिएको थियो भने ब्रिटिस एयरवेज र इमिरेट्ससहितका विभिन्न एयरलाइन्सहरूले केही समयका लागि उडानहरू स्थगन गरेका थिए। भौतिक संरचनाको क्षति मर्मत गर्न सकिए पनि र धेरै उडान मार्गहरू सञ्चालनमा रहे पनि द्वन्द्वका कारण सिर्जना भएको प्रतिष्ठामाथिको आँचलाई सुधार्न समय लाग्ने देखिएको छ।
यसैबीच विभिन्न देशका सरकारहरूले युएईका लागि अझै पनि यात्रा चेतावनी जारी राखेका छन् भने संयुक्त राज्य अमेरिकाले आफ्ना नागरिकलाई उक्त देशको यात्रामा पुनर्विचार गर्न आग्रह गरेको छ।
तर युएईमा हाल विमानस्थल, होटल, रेस्टुरेन्ट र आकर्षणहरू पूर्ण रूपमा सञ्चालन भइरहेका छन् ।













