इन्धनको मूल्य घटेको झण्डै १ महिनासम्म पनि घटेन सार्वजनिक यातायातको भाडा
काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य घटेको करिब एक महिना पुग्न लाग्दा पनि बागमती प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको भाडा यथावत् रहेकाले यात्रुहरू मार्कामा परेका छन्।
नेपाल आयल निगमले गत असार १७ गतेदेखि पेट्रोलियम पदार्थको मूल्य घटाएपछि अन्तरप्रदेश सार्वजनिक यातायातको भाडा समायोजन भए पनि बागमती प्रदेशभित्र र काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीको भाडादर भने अझै संशोधन गरिएको छैन।
नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष पुण्यप्रसाद सिटौलाले संघीय सरकारले अन्तरप्रदेश रुटको भाडा समायोजन गरिसकेको अवस्थामा प्रदेश सरकारले भने आफ्नो अधिकार क्षेत्रभित्र पर्ने सार्वजनिक यातायातको भाडा पुनरावलोकन गर्न ढिलाइ गरेको बताए।
उनले पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटअनुसार वैज्ञानिक आधारमा भाडादर समायोजन गर्न महासङ्घले पटक–पटक प्रदेश सरकारसँग आग्रह गर्दै आएको उल्लेख गरे। उनका अनुसार भाडा नघटाउँदा सर्वसाधारण महँगो भाडा तिर्न बाध्य भएका छन्। संघीय सरकारले अपनाएको अभ्यासअनुसार प्रदेश सरकारले पनि तत्काल भाडादर संशोधन गर्नुपर्ने उनको भनाइ छ।
अध्यक्ष सिटौलाले कोशी प्रदेशबाहेक अधिकांश प्रदेश सरकारले प्रदेशस्तरीय सार्वजनिक यातायातको भाडा समायोजनमा अपेक्षित चासो नदिएको पनि बताए।
यता, बागमती प्रदेश सरकारअन्तर्गत उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका वरिष्ठ अधिकृत खगेन्द्र पौडेलले अबको केही दिनभित्रै भाडा समायोजन गर्ने गरी काम भइरहेको बताए।
उनका अनुसार प्रदेशभित्र सञ्चालन हुने सार्वजनिक यातायातको नयाँ भाडादर निर्धारणको काम अन्तिम चरणमा पुगेको छ र केही दिनभित्रै संशोधित भाडा सार्वजनिक गरिनेछ।













