देशभर ८५ प्रतिशत जमिनमा रोपाइँ सकियो, कुन प्रदेशमा कति ?
काठमाडौं । साउनको दोस्रो सातासम्म देशभर धान रोपाइँ हुने क्षेत्रको ८५.७२ प्रतिशत जमिनमा रोपाइँ सम्पन्न भएको छ। कृषि, वन तथा वातावरण मन्त्रालयअन्तर्गतको कृषि विभागको पछिल्लो विवरणअनुसार नेपालमा अझै १४.२८ प्रतिशत क्षेत्रफलमा धान रोप्न बाँकी छ।
देशभर धान खेती हुने कुल १३ लाख ७० हजार ६२ हेक्टर जमिनमध्ये साउन ११ गते सोमबारसम्म ११ लाख ७४ हजार ३९२ हेक्टरमा रोपाइँ सम्पन्न भएको हो। बाँकी १ लाख ९५ हजार ६६९ हेक्टर क्षेत्रफलमा भने रोपाइँ हुन अझै बाँकी रहेको विभागले जनाएको छ।
प्रदेशगत अवस्थालाई हेर्दा रोपाइँमा मधेस प्रदेशमा सबैभन्दा कम प्रगति देखिएको छ। त्यहाँ धान खेती हुने ३ लाख ८५ हजार ९३३ हेक्टरमध्ये ३ लाख ५८० हेक्टर अर्थात् ७७.८८ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सकिएको छ। यसअनुसार करिब ८५ हजार ३५२ हेक्टर (२२.१२ प्रतिशत) क्षेत्रफलमा अझै रोपाइँ हुन बाँकी छ।
गण्डकी प्रदेशमा पनि रोपाइँ पूर्ण हुन अझै केही समय लाग्ने देखिएको छ। कुल ९३ हजार ६०६ हेक्टरमध्ये ७५ हजार ५६२ हेक्टर (८०.७२ प्रतिशत) क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ भने १९.२८ प्रतिशत क्षेत्रमा धान रोप्न अझै बाँकी छ।
कोशी प्रदेशमा २ लाख ७६ हजार ३८६ हेक्टरमध्ये २ लाख ४० हजार ३७७ हेक्टरमा रोपाइँ सकिएको छ, जुन ८६.९७ प्रतिशत हो। बाँकी १३.०३ प्रतिशत क्षेत्रमा रोपाइँ हुन बाँकी छ। बागमती प्रदेशमा ८७.०९ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ भने १२.९१ प्रतिशत क्षेत्र अझै रोप्न बाँकी छ।
त्यस्तै, लुम्बिनी प्रदेशमा ८८.९९ प्रतिशत र कर्णाली प्रदेशमा ८८.२२ प्रतिशत क्षेत्रमा धान रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ। लुम्बिनीमा अब ११.०१ प्रतिशत रोपाइँ हुन बाँकी छ भने कर्णालीमा ११.७८ प्रतिशत क्षेत्रफलमा रोपाइँ हुन बाँकी रहेको छ।
सुदूरपश्चिम प्रदेश भने रोपाइँका हिसाबले सबैभन्दा अगाडि रहेको छ। यहाँ कुल १ लाख ५४ हजार ९५० हेक्टर धान खेतीयोग्य क्षेत्रमध्ये १ लाख ५१ हजार ७४२ हेक्टर अर्थात् ९७.९३ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भइसकेको छ। अब २.०७ प्रतिशत क्षेत्रफलमा मात्र रोपाइँ हुन बाँकी रहेको विभागको तथ्याङ्कले देखाएको छ।
विभागका अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष धान रोपाइँको गति उल्लेखनीय रूपमा बढेको छ। गत वर्ष साउन ११ गतेसम्म देशभर ७८.८४ प्रतिशत क्षेत्रमा मात्रै रोपाइँ सम्पन्न भएको थियो। यस वर्ष सोही अवधिमा यो दर ८५.७२ प्रतिशत पुगेको छ। समयमै भएको वर्षा, सिँचाइ सुविधाको उपलब्धता र किसानको सक्रिय सहभागिताले यस वर्ष रोपाइँको गति सुधारिएको विभागको निष्कर्ष छ।
यस्तो छ हालसम्मको रोपाइँको विवरण :














