१३ श्रावण २०८३, बुधबार

सुनसरी घटनामा ९ दलको संयुक्त अपिल: घटनाको निष्पक्ष छानबिन र नागरिकको जिउधनको रक्षा गर



काठमाडौं । सुनसरीलगायत विभिन्न जिल्लामा विकसित पछिल्लो घटनाक्रमबारे ९ राजनीतिक दलले संयुक्त अपिल जारी गर्दै शान्ति, सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न सबै पक्षलाई आग्रह गरेका छन्।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा बसेको सर्वदलीय बैठकले मुलुकको सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न एकताबद्ध रहेको सन्देश दिएको हो।

बैठकले हालै भएका दुःखद घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै मृतकप्रति श्रद्धाञ्जली अर्पण गरेको छ भने शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्नुका साथै घाइते नागरिक र सुरक्षाकर्मीहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

संयुक्त वक्तव्यमा नेपालको विविधताबीचको एकता, सहिष्णुता र सामाजिक सद्भाव जोगाउन कुनै पनि प्रकारका उत्तेजना, हिंसा वा अवाञ्छित गतिविधिमा नफस्न सबै नागरिकलाई आग्रह गरिएको छ। असन्तुष्टि र विवादको समाधान लोकतान्त्रिक अभ्यासअनुसार संवाद र सहमतिमार्फत मात्रै सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई संयमित र शान्तिपूर्ण ढंगले आफ्ना धारणा राख्न आह्वान गरिएको छ।

बैठकले केन्द्रसँगै प्रदेश, जिल्ला र स्थानीय तहमा पनि सर्वदलीय तथा सर्वपक्षीय बैठक आयोजना गरी संवादलाई तल्लो तहसम्म विस्तार गर्न निर्देशन दिएको छ। स्थानीय प्रशासन, धार्मिक अगुवा र नागरिक समाजसँग समन्वय गरेर शान्ति र विश्वासको वातावरण निर्माण गर्नुपर्नेमा पनि जोड दिइएको छ।

संयुक्त वक्तव्यमा सामाजिक सञ्जालमार्फत फैलिन सक्ने अफवाह, भ्रामक सूचना र घृणास्पद अभिव्यक्तिप्रति सचेत रहन आग्रह गरिएको छ। सञ्चारमाध्यमलाई समेत तथ्यपरक र संयमित सूचना सम्प्रेषण गर्न अपिल गर्दै यस्ता गतिविधिले परिस्थितिलाई थप जटिल बनाउन सक्ने चेतावनी दिइएको छ।

राजनीतिक दलहरूले सरकारसँग घटनाको निष्पक्ष छानबिन, दोषीमाथि कानुनबमोजिम कारबाही, पीडितलाई राहत तथा क्षतिपूर्ति उपलब्ध गराउन माग गरेका छन्। साथै, यस्ता घटना भविष्यमा दोहोरिन नदिन आवश्यक समन्वय, अनुगमन र नेतृत्वदायी भूमिका निर्वाह गर्न आफूहरू प्रतिबद्ध रहेको जनाएका छन्।

संयुक्त अपिलको अन्त्यमा सहभागी दलहरूले राष्ट्रिय एकता र सामाजिक सद्भावको रक्षामा आफूहरू एकताबद्ध रहेको उल्लेख गर्दै उत्पन्न समस्याको दिगो, प्रभावकारी र शान्तिपूर्ण समाधानका लागि सरकार तथा समाजसँग सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।