१३ श्रावण २०८३, बुधबार

झण्डै २ अर्बको हुण्डी कारोबारको आरोपमा एकजना पक्राउ



काठमाडौं। केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले १ अर्ब ८९ करोड रुपैँया बराबरको हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा धादिङको साविक सत्यदेवी–८ घर भई हाल काठमाडौंको नागार्जुन नगरपालिका–८ मा बसोबास गर्दै आएका ४९ वर्षीय राजेन्द्रप्रसाद रिजाल रहेका सीआईबीले जनाएको हो।

गोप्य सूचनाका आधारमा शंकास्पद बैंकिङ कारोबारको विश्लेषण गर्दा रिजालले अन्य व्यक्तिसँगको समन्वयमा व्यक्तिगत बैंक खाता प्रयोग गरेर ठूलो परिमाणमा हुण्डी कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको ब्युरोले जानकारी दिएको छ। अनुसन्धानका क्रममा रिजालको खातामार्फत करिब १ अर्ब ८९ करोड ६५ लाख ३९ हजार ४५४ बराबरको शंकास्पद कारोबार भएको देखिएको हो।

यस प्रकरणमा काठमाडौं जिल्ला अदालतबाट साउन १२ गते पक्राउ अनुमति लिएपछि सोही दिन नागार्जुन–८ स्थित राधाकृष्ण मन्दिर आसपासको क्षेत्रबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। सीआईबीका अनुसार पक्राउ परेका रिजालमाथि हुण्डीसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ। साथै, उक्त कारोबारमा अन्य व्यक्तिको पनि संलग्नता रहेको हुन सक्ने भएकाले त्यसतर्फ समेत अनुसन्धान अघि बढाइएको छ।