ठुलाे व्याट्रिमा आयाे टाटाकाे नयाँ पन्च ईभी, कहिले सार्वजनिक हुन्छ ?
काठमाडौं । नेपाली विद्युतीय सवारी बजारमा टाटा मोटर्सले आफ्नो लोकप्रिय कम्प्याक्ट एसयूभी पन्च ईभीलाई नयाँ रूप र थप क्षमतासहित नेपाल भित्र्याएको छ।
विद्युतीय गाडीप्रति बढ्दो आकर्षणका बीच टाटाले पन्च ईभीलाई थप परिष्कृत रूपमा नेपाली सडकमा उतार्ने तयारी गरेको हाे।
फेसलिफ्ट संस्करणमा आकर्षक बाह्य डिजाइन, क्षमता बढाइएको ब्याट्री, छिटो चार्ज हुने प्रविधि र थप आधुनिक सुविधाहरू समावेश गरिएको टाटाका लागि नेपालकाे आधिकारिक वितरक सिप्रदी ट्रेडिङले जनाएको छ।
यसपटकको पन्च ईभी केवल सामान्य फेसलिफ्टमा सीमित छैन। कम्पनीले यसलाई बाहिरी बनावटदेखि इन्टेरियर, ब्याट्री क्षमता र प्रविधिसम्म विभिन्न पक्षमा सुधार गर्दै अझ प्रतिस्पर्धी बनाउने प्रयास गरेको छ। विशेषगरी लामो दूरी यात्रा गर्ने ग्राहकलाई लक्षित गर्दै ब्याट्रीको आकार बढाइएको छ भने चार्जिङ समय घटाउन उच्च क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट पनि थपिएको छ।

सवारीको अगाडिको भागमा नयाँ डिजाइनको बम्पर प्रयोग गरिएको छ भने क्लोज्ड फ्रन्ट ग्रिलको पहिचान भने यथावत् राखिएको छ। पहिले हेडलाइटलाई जोड्ने कालो ट्रिम हटाएर डिजाइनलाई अझ सफा र आधुनिक बनाइएको छ। वाई आकारको एलईडी डे–टाइम रनिङ लाइट र बीचभागमा रहेको चार्जिङ पोर्टको स्थान भने परिवर्तन गरिएको छैन। पछाडिको भागमा भने एक छेउदेखि अर्को छेउसम्म फैलिएको कनेक्टेड एलईडी टेललाइटले नयाँ मोडललाई फरक पहिचान दिएको छ।
के–के फेरियो नयाँ पन्च ईभीमा ?
फेसलिफ्टसँगै आएको सबैभन्दा ठूलो परिवर्तन ब्याट्री क्षमतामा देखिन्छ। अब नयाँ पन्च ईभी ३० किलोवाट आवर र ४० किलोवाट आवरका दुई विकल्पमा उपलब्ध हुनेछ। यसअघिको संस्करणमा क्रमशः २५ किलोवाट आवर र ३५ किलोवाट आवर ब्याट्री उपलब्ध थियो। अर्थात् दुवै विकल्पमा ५ किलोवाट आवर क्षमता थपिएको छ, जसले एक पटकको चार्जमा अझ बढी दूरी पार गर्न सहयोग गर्ने अपेक्षा गरिएको छ।
चार्जिङ प्रविधिमा पनि उल्लेखनीय सुधार गरिएको छ। नयाँ संस्करणले ६५ किलोवाट क्षमताको डीसी फास्ट चार्जिङ सपोर्ट गर्ने भएकाले छोटो समयमै ब्याट्री चार्ज गर्न सकिने कम्पनीको दाबी छ। यसले विशेषगरी लामो दूरीको यात्रा गर्ने र छिटो चार्जिङ खोज्ने प्रयोगकर्ताका लागि सहजता थप्नेछ।

भारतमा यो मोडल दुई ब्याट्री विकल्पमा विभिन्न ट्रिमसँग बिक्री भइरहेको छ। ३० किलोवाट आवर संस्करण स्मार्ट र स्मार्ट प्लसमा उपलब्ध छ भने ४० किलोवाट आवर संस्करण स्मार्ट प्लस, एड्भेन्चर, इम्पावर्ड र इम्पावर्ड प्लस एस गरी चार भेरियन्टमा बिक्री हुँदै आएको छ। नेपालमा भने कुन–कुन भेरियन्ट उपलब्ध हुने भन्ने विषयमा सिप्रदी ट्रेडिङले हालसम्म औपचारिक जानकारी सार्वजनिक गरेको छैन।
केबिनतर्फ पनि पन्च ईभीलाई थप आकर्षक बनाइएको छ। ड्यासबोर्डको आधारभूत डिजाइनलाई कायम राखिए पनि नयाँ ट्रिम फिनिस र डुअल–टोन कलर स्किमले यसको प्रिमियम अनुभूति बढाएको छ। साथै, टाटाका ठूला विद्युतीय एसयूभीबाट प्रेरित १६ इन्चका एरो–अप्टिमाइज्ड अलोय ह्वीलले बाहिरी स्वरूपलाई थप आकर्षक बनाएको छ।
प्रविधिका हिसाबले नयाँ पन्च ईभी पहिलेभन्दा धेरै सम्पन्न देखिन्छ। यसमा १०.२५ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली र सोही आकारको पूर्ण डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर समावेश गरिएको छ। भेरियन्टअनुसार वायरलेस मोबाइल चार्जर, भेन्टिलेटेड अगाडिका सिट, एम्बियन्ट लाइटिङ, कनेक्टेड कार प्रविधि तथा ३६० डिग्री क्यामेरा जस्ता सुविधा उपलब्ध हुनेछन्।

सुरक्षामा पनि कम्पनीले कुनै सम्झौता गरेको छैन। नयाँ पन्च ईभीमा ६ वटा एयरब्याग, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल (ईएससी), हिल होल्ड असिस्ट, टायर प्रेसर मोनिटरिङ सिस्टम (टीपीएमएस), आईएसओफिक्स चाइल्ड सिट माउन्ट र हाइ–बिम असिस्ट जस्ता अत्याधुनिक सुरक्षा सुविधा समावेश गरिएका छन्।
कम्पनीले नयाँ पन्च ईभी छिट्टै नेपाली बजारमा औपचारिक रूपमा सार्वजनिक गर्ने तयारी गरिरहेको छ । ठूलो ब्याट्री, आधुनिक डिजाइन, उन्नत प्रविधि र सुरक्षा सुविधाका कारण फेसलिफ्ट पन्च ईभी कम्प्याक्ट विद्युतीय एसयूभी सेग्मेन्टमा अझ बलियो प्रतिस्पर्धी बन्ने अपेक्षा गरिएको छ।













