१३ श्रावण २०८३, बुधबार

लघुवित्त पीडितको सामूहिक आमरण अनशन आज पनि जारी



काठमाडौं। विभिन्न पाँचबुँदे माग अघि सार्दै लघुवित्त पीडितहरूले काठमाडौंको माइतीघर मण्डलामा सुरु गरेको सामूहिक आमरण अनशन आज दोस्रो दिन पनि जारी राखेका छन्।

लघुवित्त तथा वित्तीय शोषणविरुद्धको संघर्ष समितिको नेतृत्वमा मंगलबारदेखि सुरु भएको अनशन बुधबार पनि निरन्तर चलिरहेको हो। आन्दोलनकारीहरूले वित्तीय शोषणको अन्त्य र सामाजिक न्याय सुनिश्चित गर्न सरकारसमक्ष आफ्ना माग तत्काल सम्बोधन गर्न आग्रह गरेका छन्।

संघर्ष समितिले सर्वोच्च अदालतको परमादेशअनुसार लघुवित्त पीडितसँग सम्बन्धित तीनबुँदे असहमतिसहितको प्रतिवेदन तत्काल कार्यान्वयन गर्नुपर्ने माग गरेको छ। साथै, विशेष वित्तीय ऐन खारेज गरी मुलुकी देवानी संहिताअनुसार वित्तीय प्रणाली सञ्चालनमा ल्याउनुपर्ने उनीहरूको अर्को प्रमुख माग छ।

आन्दोलनरत पक्षले गरिब, किसान, मजदुर तथा सुकुम्बासीलाई ब्याज छुटसहित निःशुल्क ऋण उपलब्ध गराउनुपर्ने व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ। त्यसैगरी, नागरिकको आवश्यकता र क्षमताअनुसार रोजगारीको अवसर सिर्जना गर्दै उचित पारिश्रमिक सुनिश्चित गर्नुपर्ने माग पनि अघि सारिएको छ।

दीर्घकालीन रूपमा निजी बैंक तथा वित्तीय संस्थाको सट्टा समाजवादी आर्थिक प्रणाली स्थापना गर्नुपर्ने मागसमेत संघर्ष समितिले दोहोर्‍याएको छ।

मागहरूको सम्बोधन नभएसम्म आमरण अनशनसहितका आन्दोलनका कार्यक्रमलाई निरन्तरता दिइने संघर्ष समितिले जनाएको छ।