१३ श्रावण २०८३, बुधबार

प्रभु बैंककी चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ



काठमाडौं । बैंकिङ कसुरसम्बन्धी अनुसन्धानका क्रममा प्रभु बैंककी चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन्। केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले बुधबार काठमाडौँको तीनकुनेबाट उनलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको हो।

सीआईबी प्रमुख (एआईजी) उमाप्रसाद चतुर्वेदीका अनुसार कर्जा प्रवाह प्रक्रियामा भएको भनिएको अनियमिततासम्बन्धी अनुसन्धानका लागि पन्तलाई पक्राउ गरिएको हो। पक्राउपछि म्याद थपका लागि उनलाई काठमाडौं जिल्ला अदालत लगिएको छ।

रुपन्देहीस्थित एशियन भिलेज रिसोर्ट प्रालिलाई प्रभु बैंकले उपलब्ध गराएको कर्जासँग सम्बन्धित प्रकरणमा पन्त मुछिएकी हुन्। उक्त कम्पनीका अध्यक्ष शशिधर शर्मा पौडेल यसअघि नै सोही प्रकरणमा अनुसन्धानका लागि सीआईबीको हिरासतमा रहेका छन्।

प्रारम्भिक विवरणअनुसार प्रभु बैंकले एशियन भिलेज रिसोर्ट प्रालिलाई करिब ४८ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो। सो कर्जा स्वीकृति तथा प्रवाह प्रक्रियामा भएको सम्भावित अनियमितताबारे नेपाल राष्ट्र बैंकको सुपरीवेक्षण विभागले २०८३ असारमा गरेको विशेष स्थलगत निरीक्षणपछि विषय बाहिर आएको अनुसन्धानमा संलग्न स्रोतले जनाएको छ।

सीआईबीले उक्त प्रकरणमा कर्जा स्वीकृति प्रक्रिया, धितो मूल्याङ्कन तथा बैंकिङ मापदण्डको पालनालगायत विषयमा अनुसन्धान जारी राखेको जनाएको छ।