१४ श्रावण २०८३, बिहिबार

लगानी बोर्डको प्रमुख कार्यकारी बन्न तीन जनाको नाम सिफारिस



काठमाडौँ । ठूला पूर्वाधार र आर्थिक लगानीको नेतृत्व गर्ने निकाय लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि तीनजनाको नाम अगाडि आएको छ।

अर्थमन्त्रीको संयोजकत्वमा रहेको सिफारिस समितिले बोर्डको नेतृत्व सम्हाल्न योग्य पात्रहरूको नाम मन्त्रिपरिषद्मा सिफारिस गरेसँगै प्रशासनिक वृत्तमा चासो बढेको छ। जितेन्द्र धिताल, याङ्की उक्याब र मनोज पौडेलको नाम सिफारिसमा परेको छ।

बोर्डको अध्यक्ष प्रधानमन्त्री रहने व्यवस्था रहेको यो निकायमा उपाध्यक्षका रूपमा अर्थमन्त्री रहने प्रावधान छ। यसैगरी, सिफारिस समितिको नेतृत्व पनि अर्थमन्त्रीले नै गरेका थिए भने योजना आयोगका उपाध्यक्ष र प्रधानमन्त्रीका सुशासन सल्लाहकार सदस्यका रूपमा रहेका थिए।

समितिले विभिन्न चरणका प्रक्रिया पूरा गरेर अन्तिम नामहरू टुङ्गो लगाएको हो। सिफारिस भएका तीन पात्रमध्ये एकलाई अब बस्ने मन्त्रिपरिषद् बैठकले आगामी चार वर्षका लागि बोर्डको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्नेछ।

प्रमुख दाबेदार मानिएकी याङ्की उक्याब विकास अर्थशास्त्री हुन् । यसअघि पनि लगानी बोर्डमा नै परामर्शदाताको रूपमा सेवा पुर्‍याइसकेकी उक्याबले सार्वजनिक नीति, दिगो विकास, जलवायु परिवर्तन र आर्थिक लगानीका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको अनुभव संगालेकी छिन्।

अक्सफोर्ड विश्वविद्यालयबाट सार्वजनिक नीतिमा स्नातकोत्तर गरेकी उनले संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को फिजीस्थित प्यासिफिक कार्यालयमा वरिष्ठ नीति सल्लाहकार तथा नेपालमै पनि विकास अर्थशास्त्रीका रूपमा काम गरेकी छिन्। बोर्डमा परामर्शदाता रहँदा ऊर्जा र ठूला पूर्वाधार परियोजनामा काम गरेको अनुभवले उनलाई यो पदका लागि एक बलियो र परिपक्व उम्मेदवारका रूपमा उभ्याएको छ।

त्यसैगरी, अर्का दाबेदार मनोज पौडेल अन्तर्राष्ट्रिय व्यापार र लगानी परिचालनका क्षेत्रमा राम्रो दख्खल राख्ने उद्यमी तथा अर्थशास्त्री हुन्। लन्डन स्कुल अफ इकोनोमिक्सबाट अर्थशास्त्रमा स्नातकोत्तर गरेका पौडेल नेपाल उद्योग वाणिज्य महासंघका पूर्वकेन्द्रीय सदस्य हुन्।

फण्ड म्यानेजमेन्ट कम्पनी आध्यन्तका संस्थापकसमेत रहेका उनी बैंकिङ, शिक्षा, पूर्वाधार र पुँजी व्यवस्थापनका विविध आयाममा सक्रिय छन्। यसअघि प्राइम कमर्सियल बैंकमा दुई कार्यकाल सञ्चालक भइसकेका पौडेलले विश्व बैंकका विभिन्न परियोजना तथा बेलायती विकास सहायता कार्यालय एफसीडीओमा समेत अर्थशास्त्रीको रूपमा काम गरेको अनुभव संगालेका छन्। उनीसँग पनि यसअघि लगानी बोर्डमै बसेर काम गरेको अनुभव छ।

सिफारिस सूचीमा परेका अर्का नाम जितेन्द्र धिताल हुन्। चार्टर्ड एकाउन्टेन्ट धितालसँग कर्मचारी सञ्चय कोषको प्रशासक भएर संस्थाको नेतृत्व सम्हालेको अनुभव छ। अर्थशास्त्र र सूचना प्रविधिमा समेत स्नातकोत्तर गरेका धिताल लामो समयदेखि वित्तीय तथा प्रशासनिक क्षेत्रमा सक्रिय छन्।

यो पदका लागि गत जेठ अन्तिम सातादेखि नै प्रक्रिया थालिएको थियो। विभिन्न चरणका सूचनामार्फत आवेदन दिएका आठजना व्यावसायिक विज्ञहरूले साताको सुरुवाति दिनहरूमा सिफारिस समिति समक्ष आफ्ना व्यावसायिक योजनाको प्रस्तुतीकरण दिनुका साथै अन्तर्वार्तामा सहभागिता जनाएका थिए।

ती सबै चरणहरू पार गर्दै अन्तिममा तीनजनाको नाम सिफारिस भएको हो। लगानी बोर्डको दैनिक कामकाज र सचिवालयको नेतृत्व गर्ने सीईओको कार्यकाल चार वर्षको हुने कानुनी व्यवस्था छ।