१४ श्रावण २०८३, बिहिबार

प्रतिनिधी सभाको बैठक बस्दै, अर्थसम्बन्धी विधेयक समितिमा पठाउने प्रस्ताव पेश हुने



काठमाडौं। संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्दै छ। संघीय संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार बैठकमा अर्थसम्बन्धी विधेयकदेखि शोक प्रस्तावसम्मका विषयमा छलफल हुने छ।

आजको बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्ने विधेयक, २०८३’ लाई विस्तृत दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।

यस्तै, सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका पूर्वसदस्य तथा संविधानसभा सदस्य स्वर्गीय गोपालमान श्रेष्ठप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोक प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ।

आजै संघीय संसद्को विधायन व्यवस्थापन समितिको बैठक पनि बिहान ११ बजे नै बस्नेछ। समितिको बैठकमा ‘संघीयतामा विधायिकी अन्तरसम्बन्धः नेपालमा अभ्यास, आवश्यकता र चुनौती’ विषयमा अभिमुखीकरण कार्यक्रम सञ्चालन हुने कार्यसूची रहेको सचिवालयले जनाएको छ।