१४ श्रावण २०८३, बिहिबार

चार वर्षदेखि रोकिएका २७ लाख बढी लाइसेन्स वितरणका लागि पठाइयो



काठमाडौं। यातायात व्यवस्था विभागले विगत चार वर्षदेखि विभिन्न कारणले छपाइ भएर पनि वितरण हुन नसकेका सवारी चालक अनुमतिपत्र वितरण गर्ने प्रक्रिया अघि बढाएको छ।

विभागले जारी गरेको विज्ञप्तिअनुसार छपाइ मेसिन, जनशक्ति व्यवस्थापन, सफ्टवेयर तथा अन्य प्राविधिक समस्याका कारण रोकिएका लाइसेन्स अब सम्बन्धित यातायात व्यवस्था कार्यालयमार्फत सेवाग्राहीलाई उपलब्ध गराइनेछ।

विभागका अनुसार २०८३ असार मसान्तसम्म छपाइ हुन बाँकी रहेका सबै सवारी चालक अनुमतिपत्र छापेर २०८३ साउन ४ गतेसम्म २७ लाख ४७ हजार २ सय ५३ थान कार्ड हुलाकमार्फत वितरणका लागि सम्बन्धित यातायात व्यवस्था कार्यालयहरुमा पठाइसकिएको छ।

यस्तै, म्याद सकिन एक वर्षभन्दा कम अवधि भएका लाइसेन्सहरुको छपाइ नगरिएको र नवीकरण पश्चात १० बर्ष अवधिको नयाँ तथा नवीकरणपछि जारी हुने लाइसेन्स अब सम्बन्धित यातायात व्यवस्था कार्यालयबाटै छपाइ र वितरण गरिने व्यवस्था मिलाइएको विभागले जनाएको छ। त्यसैले १ बर्ष भन्दा कम अवधीका लाइसेन्स बाहकलाई आफूलाई पायक पर्ने यातायात व्यवस्था कार्यालयमा गइ नवीकरण गर्न अनुरोध गरिएको छ।

विभागका अनुसार आगामी दिनमा नयाँ लाइसेन्स प्राप्त गर्ने तथा नवीकरण गर्ने सेवाग्राहीका लागि राष्ट्रिय परिचयपत्र नम्बरमार्फत विवरण प्राप्त गर्ने र राजस्व अनलाइनबाटै भुक्तानी गर्न सकिने प्रणाली लागू गरिएको छ।

साथै, सवारी चालक अनुमतिपत्रमा रहेका विवरण सच्याउने, लाइसेन्स छपाइ तथा वितरणसम्बन्धी सेवा सम्बन्धित कार्यालयबाट तत्काल उपलब्ध गराउने व्यवस्था पनि गरिएको विभागले जनाएको छ।