१४ श्रावण २०८३, बिहिबार

तराईको तनावप्रति उद्योग वाणिज्य महासंघको चिन्ता, ‘शान्ति नै विकासको पूर्वसर्त हो’



काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) ले सुनसरीको कप्तानगञ्जसहित तराई–मधेशका विभिन्न स्थानमा पछिल्ला दिनमा विकसित घटनाक्रम र त्यसबाट सिर्जिएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चासो व्यक्त गरेको छ। महासंघले सामाजिक सद्भाव कायम राख्दै शान्तिपूर्ण वातावरण निर्माण गर्न सबै पक्षलाई जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेको हो।

महासंघले नेपाल विविध जाति, भाषा, धर्म र संस्कृतिको साझा पहिचान बोकेको मुलुक भएको उल्लेख गर्दै विशेषगरी तराई–मधेश क्षेत्र लामो समयदेखि विभिन्न समुदायबीचको आपसी सद्भाव, सहिष्णुता र भाइचाराको उदाहरणका रूपमा परिचित रहेको जनाएको छ।

कुनै पनि प्रकारको हिंसा, झडप वा सामाजिक अशान्तिले कसैको हित नगर्ने मात्रै होइन, त्यसले सर्वसाधारणको दैनिकी, उद्योग–व्यवसाय, व्यापार तथा समग्र आर्थिक गतिविधिलाई समेत प्रत्यक्ष असर पार्छ त्यसैले दिगो आर्थिक विकासका लागि सामाजिक शान्ति र स्थायित्व अपरिहार्य रहेको महासंघको धारणा छ।

महासंघले भनेको छ, ‘सामाजिक अशान्ति, झडप, हिंसा र मुठभेडले कसैको पनि हित गर्दैन, यस प्रकारका घटनाले सामाजिक सद्भाव बिथोल्नुका साथै सर्वसाधारणको दैनिक जीवनयापन, उद्योग, व्यापार र समग्र देशको आर्थिक गतिविधिमा समेत गम्भीर नकारात्मक असर पुर्‍याउँछ । सामाजिक सदभाव र शान्ति नै मुलुकको समृद्धि र आर्थिक विकासको पूर्वसर्त हो ।’

विज्ञप्तिमा सबै प्रकारका विवाद तथा असमझदारीको समाधान वार्ता, संवाद र आपसी समझदारीमार्फत खोजिनुपर्नेमा जोड दिइएको छ। साथै सुनसरीको कप्तानगञ्जलगायत प्रभावित क्षेत्रमा शान्ति सुरक्षा प्रभावकारी रूपमा कायम गर्न सरकार र स्थानीय प्रशासनसँग महासंघले आग्रह गरेको छ।

महासंघले नागरिकलाई अफवाह, भ्रामक सूचना र उत्तेजनाबाट टाढा रहँदै संयमता अपनाउन तथा समाजमा विद्यमान आपसी विश्वास र भाइचारालाई थप सुदृढ बनाउन अपिल गरेको छ।

यस्तै, एफएनसीसीआईले तराई–मधेश क्षेत्रमा देखिएको तनाव अन्त्य गरी दिगो शान्ति स्थापना गर्न राजनीतिक दल, नागरिक समाज, धार्मिक अगुवा, सञ्चारमाध्यम तथा स्थानीय नेतृत्वले सकारात्मक र समन्वयात्मक भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याएको छ।

महासंघले घटनामा ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति समवेदना व्यक्त गरेको छ। साथै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना पनि गरेको छ।