१५ श्रावण २०८३, शुक्रबार

सप्तकोशी डेभलपमेन्ट बैंकको नाफा ८६% ले बढ्यो, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले समीक्षा अवधिमा १५ करोड ४ लाख ७३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद नाफा ८ करोड ८ लाख २० हजार रुपैयाँ रहेको थियो। यस आधारमा बैंकको नाफा करिब ८६.१९ प्रतिशतले बढेको हो।

यद्यपि समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी भने सामान्य रूपमा घटेको छ। गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २३ करोड ४५ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानी यस वर्ष २३ करोड ३४ लाख रुपैयाँमा सीमित भएको छ।

वित्तीय विवरणअनुसार बैंकले ४ करोड २३ लाख रुपैयाँ खुद शुल्क तथा कमिशन आम्दानी गरेको छ। त्यस्तै, खुद सञ्चालन आम्दानी ४७ करोड ४७ लाख रुपैयाँ र सञ्चालन मुनाफा २४ करोड ७९ लाख रुपैयाँ पुगेको छ। यस अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज १९ करोड ६९ लाख रुपैयाँले रिभर्सल भएको छ। साथै बैंकको निष्क्रिय कर्जा (एनपीएल) अनुपातमा उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो वर्ष १०.६५ प्रतिशत रहेको एनपीएल घटेर ६.१५ प्रतिशतमा सीमित भएको छ।

यद्यपि बैंकको रिटेन्ड अर्निङ अझै ५५ करोड ८८ लाख रुपैयाँ ऋणात्मक अवस्थामा रहेको छ। यस्तै, वितरणयोग्य मुनाफा पनि सोही रकमले ऋणात्मक रहेको बैंकले जनाएको छ। अर्कोतर्फ, बैंकको रिजर्भ भने ३४ करोड ५३ लाख रुपैयाँबाट बढेर ४४ करोड ८० लाख रुपैयाँ पुगेको छ।

व्यावसायिक विस्तारतर्फ पनि बैंकले प्रगति गरेको देखिन्छ। असार मसान्तसम्म बैंकले ५ अर्ब ५६ करोड २५ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ, जुन अघिल्लो वर्षको ५ अर्ब १ करोड ८३ लाख रुपैयाँभन्दा बढी हो। निक्षेप संकलन पनि उल्लेखनीय रूपमा बढ्दै ५ अर्ब ३३ करोड ७० लाख रुपैयाँबाट ८ अर्ब ८८ करोड ५२ लाख रुपैयाँ पुगेको छ।

बैंकको प्रतिसेयर आम्दानी (ईपीएस) ९.६९ रुपैयाँबाट बढेर १८.०४ रुपैयाँ पुगेको छ। त्यस्तै, प्रतिसेयर नेटवर्थ ८६.७१ रुपैयाँ, तरलता अनुपात ३९.४१ प्रतिशत, मूल्य–आम्दानी अनुपात (पी/ई रेसियो) ४०.४८ गुणा तथा पूँजी कोष अनुपात ११.२९ प्रतिशत रहेको वित्तीय विवरणमा उल्लेख छ।