अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले आज २५ अर्ब रुपैयाँको निक्षेप संकलन गर्दै
काठमाडौं । बैंकिङ प्रणालीमा रहेको अधिक तरलता नियन्त्रण गर्ने उद्देश्यले नेपाल राष्ट्र बैंकले शुक्रबार २५ अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दै छ। राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले ६१ दिन अवधिको निक्षेप संकलन उपकरणमार्फत बजारबाट तरलता प्रशोचन गर्न लागेको हो।
राष्ट्र बैंकका अनुसार यस उपकरणका लागि इच्छुक बैंक तथा वित्तीय संस्थाले शुक्रबार दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल प्रणालीमार्फत आवेदन दिन सक्नेछन्। यसको सावाँ तथा ब्याज आगामी असोज १४ गते भुक्तानी गरिनेछ।
बोलकबोल प्रक्रियामा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले मात्र सहभागिता जनाउन पाउनेछन्। आवेदन न्यूनतम १० करोड रुपैयाँदेखि सुरु हुनेछ भने ५ करोड रुपैयाँले भाग गर्दा नि:शेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ।
राष्ट्र बैंकले निक्षेप संकलन उपकरणको ब्याजदर बोलकबोलबाटै निर्धारण हुने जनाएको छ। कम ब्याजदर प्रस्ताव गर्ने संस्थालाई प्राथमिकतामा राखेर रकम बाँडफाँट गरिनेछ भने समान ब्याजदर प्रस्ताव भएमा ‘प्रो–राटा बेसिस’ मा बाँडफाँड गरिने व्यवस्था छ।
यस उपकरणमार्फत संकलन गरिएको निक्षेप रकमलाई बैंकहरूले अनिवार्य नगद मौज्दात (सीआरआर) मा गणना गर्न पाउने छैनन्। तर, वैधानिक तरलता अनुपात (एसएलआर) तथा तरलता अनुपातको गणनामा भने समावेश गर्न सकिनेछ।
राष्ट्र बैंकले उक्त निक्षेप उपकरणलाई अन्य बैंक तथा वित्तीय संस्थासमक्ष धितोका रूपमा प्रयोग गर्न सकिने व्यवस्था गरेको छ। यद्यपि, परिपक्व अवधि पूरा हुनुअघि यस उपकरणको रकम फिर्ता (प्रि–म्याच्योर) नहुने स्पष्ट पारिएको छ।













