ईभी चार्जिङ प्रविधिमा फड्को मार्दै डोङफेङ : १५०० किलोवाटको अल्ट्रा फास्ट चार्जर सार्वजनिक
काठमाडौं । चीनमा विद्युतीय सवारीसाधन (ईभी) उद्योगमा अत्याधुनिक चार्जिङ प्रविधि विकास गर्ने प्रतिस्पर्धा थप तीव्र बन्दै गएको छ। बीवाइडी, एफएडब्लू समूहअन्तर्गतको हङछी र डोङफेङ मोटरजस्ता प्रमुख कम्पनीहरूले उच्च क्षमताका चार्जिङ समाधान सार्वजनिक गर्दै बजारमा अग्रता कायम गर्ने प्रयास गरिरहेका छन्।
यसअघि बीवाइडीले दोस्रो पुस्ताको ‘ब्लेड ब्याट्री’सँगै ९ मिनेटमै गाडी चार्ज गर्न सकिने फ्ल्यास चार्जिङ प्रणाली सार्वजनिक गरेको थियो। त्यसपछि हङछीले ३ मिनेट ४१ सेकेन्डमै ब्याट्रीको चार्ज १० प्रतिशतबाट ७० प्रतिशतसम्म पुर्याउन सक्ने प्रविधि विकास गरेको दाबी गरेको छ।
अब सरकारी स्वामित्वको चिनियाँ अटो निर्माता डोङफेङ मोटरले १.५ मेगावाट (१,५०० किलोवाट) क्षमताको अल्ट्रा फास्ट चार्जर सार्वजनिक गर्दै यो प्रतिस्पर्धामा नयाँ आयाम थपेको छ।
जुलाई २९ मा डोङफेङ ग्लोबल इनोभेसन सेन्टरमा आयोजित कार्यक्रममा कम्पनीले ‘किलोभोल्ट ई–ड्राइभ’ प्रणालीसँगै मेगावाट क्षमताको अल्ट्रा फास्ट चार्जिङ पाइलको प्रोटोटाइप प्रदर्शन गरेको हो।
कम्पनीका अनुसार उक्त चार्जरको एउटै गनबाट अधिकतम १,५०० किलोवाटसम्म विद्युत् आपूर्ति गर्न सकिन्छ। यसले १,५०० एम्पियरसम्म करेन्ट प्रवाह गर्न सक्ने क्षमता राख्छ भने १५० देखि १,००० भोल्टसम्मको रेन्ज रहन्छ। चार्जरको ऊर्जा रूपान्तरण कार्यक्षमता ९६.७ प्रतिशतभन्दा बढी रहेको कम्पनीको दाबी छ।
डोङफेङले विकास गरेको चार्जिङ प्रणालीमा १.२ मेगावाट क्षमताको मुख्य युनिट समावेश गरिएको छ। लचिलो क्याबिनेट पेयरिङ प्रणालीका कारण यसको कुल क्षमता आवश्यकता अनुसार २.४ मेगावाट वा त्यसभन्दा माथिसम्म विस्तार गर्न सकिने कम्पनीले जनाएको छ।
यसको १,५०० किलोवाटको सिंगल गन आउटपुट बिवाइडीले मार्च ५ मा सार्वजनिक गरेको दोस्रो पुस्ताको फ्ल्यास चार्जिङ पाइलसरह छ। बीवाइडीले त्यसबेला आफ्नो चार्जरलाई विश्वकै सबैभन्दा शक्तिशाली सामूहिक उत्पादन हुने सिंगल–गन चार्जरमध्ये एक भएको दाबी गरेको थियो।
चीनको नयाँ राष्ट्रिय ऊर्जा कार्यक्षमता मापदण्ड (जीबी ४६५१९-२०२५) लागू भएपछि डोङफेङको यो प्रणाली ‘लेभल–१’ ऊर्जा कार्यक्षमता प्रमाणीकरण प्राप्त गर्ने पहिलो समूहमा परेको कम्पनीले जनाएको छ।
कम्पनीले भविष्यमा ब्याट्रीमा आधारित ऊर्जा भण्डारण प्रणाली एकीकृत गरिएको नयाँ पुस्ताको चार्जिङ समाधान विकास गर्ने योजना पनि सार्वजनिक गरेको छ। यसअन्तर्गत ७२० किलोवाटदेखि २.४ मेगावाटसम्म क्षमताका चार्जरमार्फत साना तथा ठूला दुवै प्रकारका विद्युतीय सवारीसाधनलाई सेवा दिने लक्ष्य राखिएको छ।













