झडपका घटनाप्रति निर्माण व्यवसायी महासंघको चिन्ता, संवादबाट समाधान खोज्न आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले देशका विभिन्न जिल्लामा पछिल्ला दिनमा भएका झडपका घटनाप्रति गहिरो दुःख व्यक्त गर्दै सामाजिक सद्भाव, धार्मिक सहिष्णुता र संवादमार्फत समस्या समाधान गर्न सबै पक्षसँग आग्रह गरेको छ।
महासंघका अध्यक्ष निकोलस पाण्डेले शुक्रबार जारी गरेको अपिलमा सुनसरी, सिरहा, धनुषा, सप्तरीलगायत जिल्लामा भएका घटनाबाट भएको मानवीय तथा भौतिक क्षतिप्रति दुःख व्यक्त गर्दै ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।
अपिलमा नेपाली समाजको पहिचान विविधताबीचको एकता, आपसी सद्भाव र सहकार्य रहेको उल्लेख गर्दै कुनै पनि बहानामा हुने हिंसा, झडप वा मुठभेडले देशको सामाजिक सद्भाव र गौरवशाली परम्परामाथि गम्भीर असर पर्ने उल्लेख गरिएको छ।
महासंघले आफ्ना सातै प्रदेश तथा ७७ जिल्लामा रहेका सदस्यहरूलाई सामाजिक सद्भाव कायम राख्न तथा धार्मिक सहिष्णुताको प्रवर्द्धनमा आ–आफ्नो ठाउँबाट सकारात्मक भूमिका खेल्न अनुरोध गरेको छ।
त्यसैगरी, सामाजिक एकता र दीगो शान्तिबाट मात्र मुलुकको आर्थिक समृद्धिको आधार तयार हुने उल्लेख गर्दै नेपाल सरकार, राजनीतिक दल, स्थानीय समुदाय, नागरिक समाज, विभिन्न पेशागत क्षेत्रका प्रतिनिधि तथा सञ्चार माध्यमलाई सद्भाव कायम गर्न आवश्यक पहल गर्न महासंघले आग्रह गरेको छ।
महासंघले कुनै पनि विवाद वा समस्याको दीर्घकालीन समाधान वार्ता र संवादबाट मात्र सम्भव हुने भएकाले सम्बन्धित सबै पक्षलाई तत्काल संवादमा बसेर निकास खोज्न अध्यक्ष पाण्डेमार्फत अपिल गरेको छ।













