१५ श्रावण २०८३, शुक्रबार

शान्ति, सद्भाव र संयम कायम राख्न हिन्दू–मुस्लिम धार्मिक अगुवाको संयुक्त आग्रह



काठमाडौं । सुनसरीको देवानगञ्जमा केही दिनअघि भएको घटनापछि मधेस प्रदेशका विभिन्न जिल्लामा देखिएको तनावपूर्ण अवस्थाप्रति हिन्दू र मुस्लिम समुदायका धार्मिक अगुवाहरूले संयुक्त रूपमा शान्ति र सामाजिक सद्भाव कायम राख्न अपिल गरेका छन्।

संयुक्त विज्ञप्तिमार्फत उनीहरूले सुनसरी, सिरहा तथा मधेस प्रदेशका अन्य जिल्लामा भएका घटनामा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। साथै शोकमा रहेका परिवारजनप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरिएको छ।

धार्मिक अगुवाहरूले नेपाल बहुधार्मिक, बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषता बोकेको मुलुक भएकाले आपसी सम्मान, धार्मिक सहिष्णुता र सामाजिक सद्भावलाई राष्ट्रिय एकताको आधारका रूपमा संरक्षण गर्नुपर्ने बताएका छन्। कुनै पनि विवाद वा घटनाले समाजमा विभाजन सिर्जना गर्न नहुने उनीहरूको भनाइ छ।

विज्ञप्तिमा हालका घटनाबारे निष्पक्ष छानबिन गरी कानुनविपरीतका गतिविधिमा संलग्न जोसुकैलाई कानुनी दायरामा ल्याउन सरकारसँग माग गरिएको छ। साथै पीडित परिवारलाई राहत तथा उचित क्षतिपूर्ति उपलब्ध गराउन र घाइतेहरूको निःशुल्क तथा प्रभावकारी उपचारको व्यवस्था मिलाउन पनि आग्रह गरिएको छ।

धर्मको नाममा हिंसा, द्वेष वा उत्तेजना फैलाउने गतिविधिप्रति सचेत रहन सबै नागरिकलाई अपिल गर्दै धार्मिक अगुवाहरूले सामाजिक सञ्जाल वा सार्वजनिक रूपमा घृणा फैलाउने अभिव्यक्तिबाट टाढा रहन आग्रह गरेका छन्। सामाजिक एकता कमजोर बनाउने कुनै पनि गतिविधिमा सहभागी नहुन उनीहरूले सबैलाई अनुरोध गरेका छन्।

संयुक्त अपिलमा सबै धर्मको मूल उद्देश्य मानव कल्याण, सहिष्णुता, भाइचारा र सामाजिक एकताको भावना अभिवृद्धि गर्नु रहेको उल्लेख गरिएको छ। कुनै पनि धर्मले अर्को धर्मका अनुयायीप्रति घृणा, विभेद वा हिंसालाई समर्थन नगर्ने स्पष्ट पारिएको छ।

विज्ञप्तिमा स्थानीय प्रशासन, सुरक्षा निकाय, राजनीतिक दल, धार्मिक नेतृत्व, नागरिक समाज, सञ्चारमाध्यम तथा अन्य सरोकारवालाले संवाद, सहकार्य र जिम्मेवार भूमिकामार्फत शान्ति, सुरक्षा तथा सामाजिक सद्भाव पुनःस्थापित गर्न सक्रिय भूमिका खेल्नुपर्नेमा जोड दिइएको छ।

उक्त संयुक्त अपिलमा विश्व हिन्दू महासंघ, नेपालका महासचिव रामचन्द्र तिवारी, जमिअत उलमा ए नेपालका अध्यक्ष मौलाना मोहम्मद खालिद सिद्दिकी, विश्व हिन्दू महासंघका सचिवालय सदस्य राजुराज फुयाल तथा अल सलाम सोसाइटीका अध्यक्ष मौलाना नजरुल हसन फलाहीले हस्ताक्षर गरेका छन्।