१७ श्रावण २०८३, आइतबार

विद्युत् प्राधिकरणको अनियमितता अध्ययन गर्न दुई समिति गठन



काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र नेपाल विद्युत् प्राधिकरणले प्राधिकरणसँग सम्बन्धित विभिन्न विषयमा उठेका गुनासा तथा अनियमितताका आरोपको छानबिन गर्न छुट्टाछुट्टै अध्ययन समिति गठन गरेका छन्।

ऊर्जा मन्त्रालयले प्राधिकरणले खरिद गरेका ट्रान्सफर्मरको खरिद प्रक्रिया र गुणस्तरको मूल्याङ्कन गर्न वरिष्ठ डिभिजनल इन्जिनियर (सीडीई) राजु महर्जनको संयोजकत्वमा अध्ययन समिति गठन गरेको छ।

यस्तै, नेपाल विद्युत् प्राधिकरणको सञ्चालक समितिले भूमिगत विद्युत् तार व्यवस्थापन तथा त्यससँग सम्बन्धित गुनासाहरूको अध्ययन गर्न सञ्चालक समिति सदस्य शम्भु केसीको नेतृत्वमा अर्को समिति बनाएको छ।

यी दुवै समितिले विद्युत् प्राधिकरणको सेवा प्रवाह, पूर्वाधार व्यवस्थापन तथा गुणस्तरसँग जोडिएका विषयमा अध्ययन गरी आवश्यक सुझावसहित प्रतिवेदन पेश गर्ने अपेक्षा गरिएको छ।