भूराजनीतिक समानता भएका नेपाल र मंगोलियाबीच द्विपक्षीय साझेदारीबारे उच्चस्तरीय वार्ता
काठमाडौँ । नेपाल र मंगोलियाबीच द्विपक्षीय सम्बन्धलाई थप गहिरो बनाउने उद्देश्यले उच्चस्तरीय कूटनीतिक संवाद भएको छ। नेपाल भ्रमणमा रहेका मंगोलियाका पूर्वप्रधानमन्त्री गोम्बोजभ जन्दानशातार र परराष्ट्रमन्त्री शिशिर खनालबीच सिंहदरबारस्थित मन्त्रालयमा भेटवार्ता भएको हो।
सो अवसरमा दुई मुलुकबीचको ऐतिहासिक सम्बन्ध, साझा भूराजनीतिक अवस्था, आर्थिक साझेदारी र सांस्कृतिक समानताबारे विस्तृत छलफल गरिएको थियो।
भेटका क्रममा परराष्ट्रमन्त्री खनालले नेपाल र मंगोलियाले भोगिरहेका भौगोलिक तथा भूराजनीतिक चुनौतीहरूमा धेरै समानता रहेको औल्याए। मंगोलियाले आफ्ना ठूला छिमेकीहरूसँग कायम राखेको सन्तुलित र सफल कूटनीतिबाट नेपालले धेरै कुरा सिक्न सक्ने उनको भनाइ थियो।
भूपरिवेष्टित राष्ट्रहरूले अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने साझा मुद्दा र हितका पक्षमा दुवै देशले सहकार्य गर्नुपर्नेमा उनले जोड दिए। मंगोलियाली अनुभवलाई नेपालको विकास मोडलमा प्रयोग गर्न सकिने सम्भावनाबारे पनि संवाद केन्द्रित थियो।
पूर्वप्रधानमन्त्री जन्दानशातारले बदलिँदो वैश्विक परिदृश्यमा साना र भूपरिवेष्टित मुलुकहरूले एक्लैभन्दा पनि आपसी एकता र सहकार्यमार्फत अघि बढ्नुपर्ने बताए। भौगोलिक रूपमा टाढा रहे पनि नेपाल र मंगोलियाबीच बौद्ध दर्शन, संस्कृति र मूल्य–मान्यताले गहिरो आत्मिक सम्बन्ध जोडेको उनको भनाइ थियो।
मंगोलियाली नेता जन्दानशातारले नेपालसँगको साझेदारीलाई केवल राजनीतिक दायरामा मात्र सीमित नराखी आध्यात्मिक र सांस्कृतिकस्तरमा समेत विस्तार गर्न चाहने स्पष्ट पारे।
दुवै पक्षले व्यापारिक साझेदारी, कूटनीतिक सहकार्य र विशेष गरी नेपालमा चेस खेलको विकासजस्ता नयाँ क्षेत्रहरूमा सहकार्य बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।
नेपालको नयाँ राजनीतिक नेतृत्व मंगोलियासँगको सम्बन्धलाई नयाँ रणनीतिक उचाइमा पुर्याउन तयार रहेको मन्त्री खनालले बताएका छन्। यस उच्चस्तरीय भेटले आगामी दिनमा दुई देशबीचको सम्बन्धलाई थप व्यावहारिक र परिणाममुखी बनाउने आधार तयार पारेको छ।













