१९ श्रावण २०८३, मंगलबार

नाइमा मोबिलिटी एक्स्पोबाट नेपाल डेब्यु गर्दै महिन्द्राकाे थ्रि रो-सेभेन सिटर एक्स ईभी ९ एस, के के छन् विशेषता ?



काठमाडाैं । नेपाली अटोमोबाइल बजारमा इलेक्ट्रिक गाडी (ईभी) को आकर्षण दिनप्रतिदिन बढ्दो छ। यही लहरमा प्रतिष्ठित भारतीय अटोमोबाइल ब्रान्ड महिन्द्राले पनि नेपाली बजारमा आफ्नो पकड अझ बलियो बनाउन नयाँ फ्ल्यागसिप इलेक्ट्रिक एसयुभी ‘महिन्द्रा एक्स ईभी ९ एस’ सार्वजनिक गर्ने तयारी गरेको छ ।

नेपालमा आयोजना हुन गइरहेको बहुप्रतीक्षित नाइमा मोबिलिटी एक्स्पो २०२६ मा यो गाडीले पहिलो पटक नेपाल डेब्यु गर्ने छ ।

नेपाली बजारमा यसअघि नै उपलब्ध भइसकेका बीई ६, एक्स ईभी ९ ई को सफलतापछि महिन्द्राले आफ्नो इलेक्ट्रिक लाइनअपलाई विस्तार गर्दै यो नयाँ एसयुभी ल्याउन लागेको हो। महिन्द्राको अहिलेसम्मकै सबैभन्दा ठूलो इलेक्ट्रिक एसयुभी को रूपमा परिचित एक्स ईभी ९ एस ब्रान्डकै पहिलो थ्रि राे, सेभेन सिटर भएको डेडिकेटेड इलेक्ट्रिक गाडी हो, जसले ठूला नेपाली परिवारका लागि यात्रालाई निकै आरामदायी बनाउने कम्पनीले जनाएकाे छ।

हेर्दा महिन्द्राको चर्चित प्रिमियम एसयुभी ‘एक्सयुभी७००’ को झल्को दिने यसको बनावट निकै आधुनिक र फ्युचरिस्टिक छ। यो पूर्ण रूपमा इलेक्ट्रिक थिममा आधारित छ, जसमा क्लोज्ड-अफ फ्रन्ट ग्रिलसँगै गाडीको चौडाइभरि फैलिएको फुल-विड्थ एलइडी लाइट बार र भर्टिकली स्ट्याक गरिएको एलइडी हेडल्याम्प दिइएको छ। लुक्सलाई थप प्रिमियम बनाउन यसमा फ्लस-फिटिङ डोर ह्यान्डल, एरोडाइनामिक एलोय ह्विल र पछाडि आकर्षक एल-आकारका एलइडी टेल ल्याम्पहरू जडान गरिएका छन्।

२,७६२ एमएमको लामो ह्विलबेस र २०५ एमएमको उत्कृष्ट ग्राउन्ड क्लियरेन्सका कारण नेपालका जस्तोसुकै खाल्टाखुल्टी र कच्ची सडकमा पनि यसले सहजै यात्रा तय गर्न सक्छ। साथै, सामान राख्नका लागि पछाडि ५२७ लिटरको बुट स्पेस र अगाडि बोनेटमुनि थप १५० लिटरको फ्रन्क दिइएको छ।

महिन्द्राले यो एसयुभीलाई तीनवटा फरक ब्याट्री प्याक विकल्पमा बजारमा उतारेको छ— ५९ किलोवाट आवर, ७० किलोवाट आवर, र ७९ किलोवाट आवर। यी ब्याट्रीले २२८ हर्सपावरदेखि २८२ हर्सपावरसम्मको शक्तिशाली पावर र सबै भेरियन्टमा ३८० एनएमको दमदार टर्क पैदा गर्छन्। यसको एआरएआई प्रमाणित रेन्ज ५२१ किमीदेखि ६७९ किमी प्रति चार्जसम्म रहेको छ, जसले गर्दा लामो यात्राका लागि यो अत्यन्तै भरपर्दो छ।

पर्फेमन्सको कुरा गर्दा, यो गाडीले मात्र ७ देखि ७.९ सेकेन्डमा ० देखि १०० किमी प्रतिघण्टाको रफ्तार समात्न सक्छ। यसको अधिकतम गति (टप स्पिड) २०२ किमी प्रतिघण्टा रहेको छ। लामो यात्राका लागि यसमा १७५ किलोवाट सम्मको डिसी फास्ट चार्जिङ सपोर्ट उपलब्ध छ, जसले गर्दा ब्याट्री निकै छिटो चार्ज हुन्छ र गाडी चार्जकै लागि लामो समय पर्खिरहनु पर्दैन।

गाडीभित्र छिर्दा यसको क्याबिन कुनै अत्याधुनिक सिनेमा हलभन्दा कम लाग्दैन। ड्यासबोर्डमा ‘ट्रिपल-स्क्रिन’ सेटअप दिइएको छ, जसमा ड्राइभर डिस्प्ले, मुख्य इन्फोटेनमेन्ट सिस्टम र अगाडिको यात्रु (प्यासेन्जर) का लागि छुट्टै डिस्प्ले स्क्रिन समावेश छ। यति मात्र होइन, पछाडिको सिटमा बस्ने यात्रुहरूका लागि पनि मनोरञ्जनका लागि विशेष स्क्रिनहरू उपलब्ध छन्।

यात्रालाई संगीतमय बनाउन १६ वटा स्पिकर भएको प्रिमियम ‘हार्म्यान कार्डन’ अडियो सिस्टम जडान गरिएको छ। यसबाहेक, एउटा ठूलो प्यानोरामिक सनरुफ, भेन्टिलेटेड फ्रन्ट सिट (जसमा ड्राइभरलाई सजिलो पार्ने बोस मोड छ), एम्बियन्ट लाइटिङ र अत्याधुनिक पावर टेलगेट जस्ता प्रिमियम सुविधाहरूले यसलाई निकै विलासी बनाएका छन्। विभिन्न सडक अवस्थाका लागि यसमा एभ्रीडे, रेस, रेन्ज, र स्नो गरी चारवटा ड्राइभिङ मोडहरू र फाइभ-लेभल रिजेनेरेटिभ ब्रेकिङ सिस्टम दिइएको छ।

महिन्द्राले एक्सईभी ९एस मा सुरक्षालाई उच्च प्राथमिकतामा राखेको छ। यसमा ७ वटा एयरब्याग, लेभल २+ एडभान्स्ड ड्राइभर असिस्टेन्स सिस्टम (एडीएएस), र गाडी आफैँ पार्क हुने ‘अटोपार्क असिस्ट’ जस्ता सुविधाहरू छन्। सुरक्षित यात्राका लागि यसमा महिन्द्राको ‘आइडन्टिटी’ ड्राइभर मोनिटरिङ सिस्टम छ, जसले चालकलाई निन्द्रा लागेको वा ध्यान भत्किएको अवस्थामा तुरुन्तै सचेत गराउँछ। साथै, ‘सिक्योर ३६० प्रो’ सिस्टममार्फत गाडीको लाइभ क्यामेरा फिड हेर्न र टु-वे कम्युनिकेसन (दुईतर्फी कुराकानी) गर्न सकिन्छ, जसले सुरक्षालाई अर्को स्तरमा पुर्‍याउँछ।

नेपाली बजारमा यसको आधिकारिक मूल्य कति हुनेछ र करको दायरा कस्तो रहनेछ भन्ने कुरा एक्स्पोमा सार्वजनिक भएपछि मात्रै खुल्नेछ। यद्यपि, यो गाडी उत्पादन भएर आउने छिमेकी देश भारतमा यसको सुरुवाती एक्स-शोरूम मूल्य १९.९५ लाख भारु (भारतीय रुपैयाँ) देखि सुरु भएर टप भेरियन्टको मूल्य २९.४५ लाख भारुसम्म तोकिएको छ।